Ads

माओवादी बैठक : कांग्रेस लचिलो नबने चार दलको मात्र गठबन्धन गर्ने विकल्प


काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेसको घमण्ड र नेकपा एसको हैसियतभन्दा बढी दाबीका कारण चुनावी गठबन्धन पेचिलो बनेको निष्कर्ष निकालेको छ । कांग्रेस लचिलो नबने बाँकी चार दलको मात्र गठबन्धन गर्ने विकल्पमा समेत माओवादीभित्र छलफल भएको छ ।

अध्यक्ष प्रचण्डले मंगलबार बोलाएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उपमहानगरपालिकाको भागबण्डा मिलाउन गाह्रो भएको ब्रिफिङ सुनेपछि नेताहरुले देशब्यापी तालमेलको सम्भावना नरहेको निष्कर्ष निकालेका छन् । कांग्रेसले ८ वटा उपमहानगरपालिका दावी गरेपछि समस्या आएको प्रचण्डले सुनाएका थिए ।

पूर्वस्थायी कमिटी सदस्यहरू सम्मिलित बैठकमा प्रचण्डले गठबन्धनमा सहमतिका लागि अहिलेसम्म भएका प्रयासहरुको जानकारी दिएको केन्द्रीय लेखा आयोगका अध्यक्ष पेशल खतिवडाले बताए । उनले सबैतिरको ब्रिफिङ लिइएको भन्दै कांग्रेसबाहेक गठबन्धन दल मिलेर जानुपर्ने अवस्था पनि आउन सक्ने बताए ।

बैठकमा ६ मध्ये २ महानगरपालिकाको हैसियत माओवादीको भए पनि एउटामात्र मात्र चित्त बुझाउनु परेकाले ११ मध्ये ४ वटा उपमहानगरपालिका नछाड्न नेताहरूले प्रचण्डलाई दबाब दिएका छन् ।

माओवादीले जितपुर धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिका छाड्न नहुने नेताहरूले बताएका थिए । तर हेटौंडामा नेकपा एसको दाबी छ भने धरान कांग्रेसले नछाड्ने भनेको छ ।

नेकपा एसले जनमत नै नभएका ठाउँमा पनि अनावश्यक दाबी गर्दा गठबन्धनमा सहमति हुन नसकेको बैठकमा ब्रिफिङ भएको थियो । कतिपय नेताले जिल्ला र पालिकास्तरीय छलफलको ब्रिफिङ गर्ने क्रममा गठबन्धनमा नेकपा एस घाँडो भएको र कांग्रेस घमण्डी भएको टिप्पणी गरेका थिए । नेकपा एसलाई छाडेर जान पनि नसकिने र मागेजति दिएर गठबन्धन हुने अवस्था पनि नरहेको ब्रिफिङ बैठकमा भएको थियो ।

माओवादी बैठकमा प्रचण्डले कांग्रेसलाई छाडेर बाँकी दलमात्र मिलेर जाँदा के होला ? भन्ने प्रस्ताव समेत राखेको बताइएको छ । यदि उपमहानगरपालिकामा कांग्रेस लचिलो नबनेको खण्डमा माओवादी, जसपा र नेकपा एसमात्र मिल्दा पनि चारवटा जित्न सकिने र कांग्रेसले २ वटाभन्दा जित्न नसक्ने आँकलन माओवादीको छ ।

Ads

सम्बन्धित पोष्टहरू