Ads

३९० जनप्रतिनिधि निर्विरोध निर्वाचित, निर्विरोध निर्वाचित हुनेमा एमाले अघि (सूचिसहित)


काठमाडौं । बैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनको मतदानअघि नै तीन जना गाउँपालिका अध्यक्षसहित ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले प्रकाशन गरेको एक लाख ४५ हजार १० जना उम्मेदवारको अन्तिम नामावलीमध्ये ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।

गएको वैशाख ११ र १२ गते दुई दिन ७५३ वटा स्थानीय तह र त्यसका ६ हजार ७४३ वडामा परेको उम्मेदवारीमध्येबाट उनीहरु निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । आयोगका अनुसार सबैभन्दा धेरै १६४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । दोस्रोमा खुला वडा सदस्यतर्फ १०१ जना निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै ७१ जना महिला सदस्य र ४८ जना वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा ३–३ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

एमालेबाट १३८ जना निर्विरोध

निर्विरोध निर्वाचित हुने सबैभन्दा धेरै नेकपा (एमाले) बाट उम्मेदवारी दिएका जनप्रतिनिधि रहेका छन् । एमालेबाट एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्षसहित १३८ जना निर्विरोध भएका छन् ।

निर्विरोध वडा अध्यक्षमा एमाले अग्र स्थानमा रहेको छ । एमालेका १७ जना वडा अध्यक्ष निर्विरोध भएका हुन् ।
दोस्रोमा नेपाली कांग्रेसबाट एक गाउँपालिका उपाध्यक्षसहित ११५ जना निर्विरोध भएका छन् ।

तेस्रोमा नेकपा (माओवादी केन्द्र) बाट ६० जना निर्विरोध भएका छन् ।

एकीकृत समाजवादीबाट २ अध्यक्षसहित ३५ जना निर्विरोध

दलबाट निर्विरोध हुनेमा पछाडि रहेको नेकपा (एकीकृत समाजवादी) बाट २ जना गाउँपालिका अध्यक्ष र एक जना उपाध्यक्ष निर्विरोध भएका छन् । ३४ जना निर्विरोध भएको एकीकृत समाजवादीका ६ जनामात्रै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै ३६ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् । वडा अध्यक्षमा एकीकृत समाजवादी बराबर ६ जना स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् ।

आयोगका अनुसार सबैभन्दा कम राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना खुला सदस्य निर्विरोध भएका छन् ।

डोल्पाका दुई गाउँपालिकाका सबै निर्विरोध

डोल्पाका दुई गाउँपालिकामा उम्मेदवारी दिएका सबै जना निर्विरोध निर्वाचित भएका छन् । एकीकृत समाजवादी, कांग्रेस र एमाले तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका सबै जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार डोल्पाको काइके गाउँपालिकामा उम्मेदवारी दिएका ३५ जना नै निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा, अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्य गरेर ३७ जना निर्वाचित हुने भए पनि दुई वडामा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको आयोगले जनाएको छ ।

डोल्पो बुद्धमा उपाध्यक्षसहित २२ जना निर्विरोध

डोल्पाकै डोल्पो बुद्ध गाउँपालिकामा उपाध्यक्ष र चार जना वडा अध्यक्षसहित २२ जना जनप्रतिनिधि निर्विरोध भए । गाउँपालिका अध्यक्षसहित ३४ जनाले उम्मेदवारी दिएका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू