Ads

सुरु भयो मौन अवधि, प्रचार प्रसार र मतदाता प्रभावित पार्ने सबै काम बन्द


काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ ।

मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ ।

मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ । निर्वाचन आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने ।’

निर्वाचन आयोगले सामाजिक सञ्जाल, सञ्चारमाध्यम लगायत अन्य उपायबाट राजनीतिक दल, उम्मेदवारको पक्ष–विपक्षमा सन्देश, सूचना र प्रचारप्रसार सामग्री राख्न र सेयर गर्न समेत रोक लगाएको छ । आचारसंहिता पालना र मौन अवधिमा पालनाको अनुगमन गर्न आयोगले १९ जिल्लामा सहसचिवको नेतृत्वमा टोली पठाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू