भक्तपुर। ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका– ७ का नवनिर्वाचित वडाध्यक्ष वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन् ।
भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमतिबिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौंले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षीय ईश्वर गाइजुलाई सरकारी जग्गा र व्यक्तिको निजी जग्गा अनुमति बिना बैना रकम लिई ठगी गरेको अभियोगमा शुक्रबार पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरलाई बुझाएको थियो ।
सोही घटनामा थप अनुसन्धान गर्ने क्रममा वडाध्यक्ष श्रेष्ठलगायतका व्यक्तिको संलग्नता देखिएको र उनीहरू विरुद्ध पक्राउ पूर्जी जारी गरिएको परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
वडाध्यक्षसहित ६ जनाको नाममा पक्राउ पूर्जी जारी भएको थियो । केशव अधिकारी र ईश्वर गाइजु हाल अनुसन्धानका क्रममा थुनामा । अन्य चार जना फरार छन्, उनले भने ।
वडाध्यक्ष श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए । अधिकारी र गाइजुसहितको टोलीले चाँगुनारायण नगरपालिका– ८ मा सरकारी र अन्य व्यक्तिको नाममा रहेको जग्गा जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैनाबापत करारनामा गरी ५ करोड २० लाख ठगी गरेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का धनीराम राईले जाहेरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्