काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणका कारण पृथ्वी नै प्रभावित हुने भएकोले वातावरण संरक्षणमा सबैले सहयोग गर्न आह्वान गरेका छन् ।
विश्व वातावरण दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्री देउवाले वातावरण संरक्षण अभियानमा आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवाले वातावरणको संरक्षण नहुँदा जलवायु परिवर्तन भई विभिन्न प्रकोहरूको सामना गर्नु पर्ने र यसले नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश र गरिब तथा सीमान्तकृत समुदाय बढीमात्रामा प्रभावित भइरहेका उल्लेख गरेका छन् ।
वातावरणीय समस्यासँग जुध्नका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झकझकाउने देउवाको अपेक्षा छ ।
यस सन्दर्भमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै सरकारका तीन तहमा थप नीतिगत समन्वय, रणनीतिक मार्गदर्शन तथा कार्यक्रममा तादात्म्य कायम गरेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्