Ads

भलिबल विकासका सुत्राधारः ‘जगदीश गुरु’


महेन्द्रनगर,। जुनसुकै क्षेत्रमा पनि सफलता सहजै मिल्दैन । कठिन सङ्घर्ष गर्नुनै पर्छ । यस्तै खेल क्षेत्रमा निरन्तरको मेहनत र सङ्घर्षले सफल प्रशिक्षकका रुपमा परिचित भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले कञ्चनपुरको महेन्द्रनगरमा खेलाडी उत्पादनका लागि थालेको अभियान लोभलाग्दो छ ।

आफू खेलाडी हुँदाको समयमा १२ वर्ष राष्ट्रिय पुरुष टिमबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका प्रशिक्षक भट्टले पछिल्लो समय नेपाली महिला टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइरहेका एकपछि अर्को उपाधिले चर्चामा छन् । कारण उहाँ पछिल्ला वर्षमा नेपाली राष्ट्रिय महिला टिम सम्हाल्दै आउनुभएको छ ।

खेलाडी जीवनबाट सन्यास लिएर प्रशिक्षकका रुपमा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन थालेको पनि २९ वर्षभयो‘ उनले भने , ‘अझै नेपाली भलिबल टिमलाई अन्तर्राष्ट्रियस्तरमा सफलता दिलाउने गरी योजनाका साथ अघि बढेका छौँ ।‘ महिला टिमको प्रशिक्षक भएपछि काठमाडौँमा व्यस्त हुने उहाँ बिदामा गृहनगर आउँदा पनि भलिबलको विकास र खेलाडी उत्पादनमै समय खर्चिरहनुहुन्छ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा प्रशिक्षक भट्ट र जिल्ला भलिबल सङ्घको पहलमा नेपाली सेनाले २०६१ सालमा प्रशिक्षक केन्द्र निर्माण गरिदिएको छ । प्रशिक्षक केन्द्रको विकाससँगै पछिल्लो समय भलिबल प्रशिक्षण केन्द्रसमेत यहाँ निर्माण गरिएको छ ।

अहिले भलिबलका लागि आवश्यक ‘हाइट’ भएका खेलाडी यहाँ नियमित प्रशिक्षणरत छन् । खेलाडी जीवनदेखि नै खेलाडीलाई बढी सयम दिँदै आउनुभएका प्रशिक्षक भट्टकै सक्रियतामा महेन्द्रनगरले हरेक वर्ष सयौँ नयाँ प्रतिभावान खेलाडी जन्माइरहेको छ ।

खेलाडी हुँदादेखि प्रशिक्षक हुँदासम्म सफलताले चर्चामा रहदै आउनुभएका प्रशिक्षक भट्टले यहाँ खेलाडीको हितका लागि गरेका पहल सकरात्मक रहेको छ । साथै उहाँ खेलाडी छात्राबास निर्माणको पहलमा हुनुहुन्छ ।

“अभाव र प्रभावसित जुधिरहेका खेलाडीलाई प्रशिक्षण केन्द्रमै राखेर प्रशिक्षण गराउने उद्देश्यले खेलाडी छात्राबास निर्माणको पहलमा छौँ‘ उनले भने , ‘अहिले पनि प्रशिक्षक केन्द्रमै बसेर २०/२२ जना खेलाडी प्रशिक्षण गरिरहेका छन् ।‘ स्तरीय प्रशिक्षण मात्रै होइन, खेलाडीको वृत्तिविकासका लागि पनि भट्टले खेलाडीलाई निःशुल्क अध्ययनको प्रबन्ध मिलाउनुभएको छ ।

यहाँका क्याम्पस र विद्यालयमा प्रशिक्षक भट्टकै आग्रहमा ६० जना खेलाडी निःशुल्क अध्ययन गर्छन् । “पोखरा, काठमाडौँ र बुटबलसम्म खेलाडीलाई अध्ययनको व्यवस्था मिलाएको छु‘ उनले भने , ‘खेल्ने र विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्थापन गरिँदै आएको छ ।‘

यहाँ दैनिक ८० देखि ९० जना महिला तथा पुरुष खेलाडी प्रशिक्षणमा हुन्छन् । प्रशिक्षण केन्द्रबाट उत्पादन भएका खेलाडीमध्ये सयौँले राष्ट्रिय टिमबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामासमेत भाग लिइसकेको उहाँको भनाइ छ ।

केही समययता यहाँको भलिबल प्रशिक्षण केन्द्रमा स्वमय्सेवक प्रशिक्षकका रुपमा सिनियर खेलाडीद्धय लालबहादुर बटाला र दीपेन्द्र भट्टलेसमेत सहयोग गरिरहेका छन् । ‘प्रशिक्षण केन्द्रमै बास बसेर प्रशिक्षण गर्ने खेलाडीको खानपिनको व्यवस्थाका लागि दाता र राष्ट्रिय खेलकूद परिषद्बाट पनि कहिलेकाहीँ सहयोग भइरहेको छ‘ उनले भने , ‘हामीसित नियमित आयस्रोत नभए पनि खेलाडीलाई जेनतेन सुविधा दिइरहेकै छाँैं ।‘

कञ्चनपुरमा उत्पादन भएका भलिबल खेलाडी करिब ५० प्रतिशत विभिन्न विभागीय टिमबाट खेलिरेहको उनको भनाइ छ । ‘राष्ट्रिय टिममा पनि यहाँ उत्पादन भएका खेलाडीको बाहुल्यता छ‘ उनले भने , ‘भलिबल खेलाडीको उर्वरभूमि सुदूरपश्चिमको खेल विकासमा नीति निर्माण तहमा पुगेकाकाले पनि यसतर्फ ध्यान जानु आवश्यक छ ।‘

विसं २०५८ यता भलिबल खेलेका करिब एक हजार २०० भन्दा बढी सेना प्रहरीमा जागिरे भइसकेका छन् । ‘खेलाडीको भविष्य सुन्दर बनाउने खालका योजना ल्याए खेलप्रतिको आकर्षण बढ्दै जान्छ‘ उनले भने , ‘त्यसका लागि राज्यको प्राथमिकतामा खेलकूद पनि पर्नु आवश्यक छ ।‘

Ads

सम्बन्धित पोष्टहरू