काठमाडौँ । भरतपुर महानगरपालिकाले अनलाईन प्रणाली मार्फत कर भुक्तानीको शुरुवात गरेको छ। यसअघि नक्सा पास, सिफारीस दस्तुरको अनलाईन मार्फत कर तिर्ने व्यवस्था गरेको महानगरले मंगलबारदेखि सम्पूर्ण सेवाहरुको कर अनलाईन प्रविधि मार्फत भुक्तानी गर्ने व्यवस्था गरेको हो। यो प्रणाली सबैभन्दा पारदर्शी भरपर्दो र विस्वासिलो हुने भन्दै महानगरले यो प्रणालीको सुरुवात गरेकाे हाे ।
भरतपुर महानगरले सम्पती, मालपोत,भूमि, व्यवसायी, घरजग्गा बहाल, सवारी साधान, मनोरञ्जन र विज्ञापनमा कर लगाउँदै आएको छ। अब यी सेवाको कर घरबाट नै भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको महानगर प्रमुख रेनु दाहालले बताइन्। सुशासन कायम राख्न अनलाईन प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ।
उनले भनिन्, ‘ हामी स्मार्ट सिटीको अवधारणा अनुसार अगाडी बढेका छौँ । सुशासनसहितको सेवा प्रभाहमा अनलाईन प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएका छौँ।’
भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले ऐतिहासिक कार्यको शुरुवात भएको बताए। उनले स्मार्ट सिटी निर्माणको एउटा खुट्किलो पार गरेको समेत बताए। ‘हाम्रो चुनावी प्रतिवद्धतामा स्मार्ट सिटीको अवधारणा थियो। यसको शुरुवात भएको छ,’ उनले भने, ‘कार्यान्वयनका लागि सबै तहतप्काबाट लाग्न आवश्यक छ।’
प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले सुसासन कायम राख्न यस प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘अनलाईन पेमेन्टले भष्ट्राचार घाटाउँछ। सेवाग्राहीले लाईन बस्नु परेन । कर्मचारीलाई पनि आधा लोड घट्छ’, उनले भने, ‘आधुनिक युगमा प्रविधिको प्रयोग गर्दै कर्मचारीको संख्या घटाउँदै लैजानुपर्छ।’
दुई वर्षभित्र डिजिटल सेवा सम्पूर्ण वडामा पुर्याउने गरि काम भइरहेको उनले बताए। यसका लागि कर्मचारी तथा सेवाग्राहीलाई तालिम दिने योजना रहेको उनले सुनाए।
अनलाईन पेमेन्टका लागि सम्पति, मालपोत तथा भूमिकर लगायतका करहरु तिरेको रसिद हेरी करदाता संकेत नम्बर हुनुपर्ने हुन्छ। भरतपुर महानगरपालिकाको अनलाईन पेजमा गएर स्मार्ट मोवाईल मार्फत कर तिर्न सकिने सुवेदीले बताए।
प्रतिक्रिया दिनुहोस्