काठमाडौं । काठमाडाैँमा जारी नेकपा एमालेको सचिवालय बैठकमा पार्टीको निर्वाचन विभागले प्रतिवेदन पेस गरेको छ।
प्रतिवेदनमा गठबन्धन तथा पार्टी विभाजन लगायतको प्रतिकुलतमा समेत प्राप्त परिणाम राम्रो पक्ष रहेको तर अन्तर्घात विगतको तुलनामा बढेको निष्कर्ष निकालिएको एमाले श्राेतले जनाएकाे छ ।
त्यस्तै प्रतिवेदनमा चुनावमा अन्तर्घात तथा टिकट वितरणका समस्या पनि औंल्याइएको छ।
निर्वाचनमा भएका सकारात्मक र नकारात्मक पक्ष औंल्याउने क्रममा चुनावमा घात-अन्तर्घात देखिएको, टिकट नपाउँदा अन्तर्घात गर्ने प्रवृत्ति देखिएको प्रतिवेदनमा उल्लेख छ । २३ पेजको प्रतिवेदनमा चुनाव हार्नुको अर्को कारण सरकार पक्षबाट भएको धाँधलीलाई लिइएको छ।
‘घेराबन्दीका बाबजुद पनि राम्रो परिणाम आउँछ भन्ने थियो। तर पनि सोचे अनुसारको परिणाम आउन सकेन’, प्रतिवेदनमा लेखिएको छ, ‘गठबन्धन, घात-अन्तर्घात उम्मेदवार छनोट, पार्टीका नेता कार्यकर्ताको परिचालन चुस्तदुरुस्त नहुनु र सरकारी पक्षबाट भएको धाधली पनि निर्वाचनमा अपेक्षित नतिजा नआएको हो।’
कमिकमजोरी सुधारेर जान सके त्यसले आगामी निर्वाचनमा एमालेको पक्षमा परिणाम ल्याउन सकिने प्रतिवेदनको ठहर छ।
प्रतिवेदनमामाथि बैठकमा छलफल भइरहेको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिवहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा र पद्मा अर्याल लगायतको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस्