काठमाडौं । मदन भण्डारी स्पोटर्स एकेडेमीले विभिन्न ७ खेललाई समेट्दै राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता हुने जानकारी गराएको हो ।
७१औं मदन जयन्तीको अवसरमा एकेडेमीले राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता संघीय राजधानीदेखि मधेश प्रदेशसम्म हुनेछ । प्रतियोगितामा क्रिकेट, भलिबल, रेस्लिङ, चेस, बास्केटबल, फुल कन्ट्याक्ट कराते र तेक्वान्दोसँगै प्रशिक्षण तथा तालिम हुनेछ ।
सम्मेलनमा एकेडेमीका अध्यक्ष धु्ब आचार्यले आचार्यले प्रतियोगिताकाबारेमा बृस्तृत जानकारी गराउनुभयो । उहाँका अनुसार क्रिकेटमा ट्यालेन्ट हन्टसहित यू–१४, यू–१६ र यू–१८ हुनेछ । क्रिकेट भैरहव, दमक, वीरगन्ज र जनकपुरमा हुनेछ । क्रिकेट २० असारसम्म हुनेछ । क्रिकेटको विजेताले ३० हजार र दोस्रो हुनेले २० हजार रुपैया हात पार्नेछन् ।
काठमाडौं र बुटवलमा हुने खुल्ला कलेजस्तरको भलिबलको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार तथा तेस्रो हुनेले २५ हजार रुपैया हात पार्नेछ । काठमाडौंमा पुरुषतर्फको मात्रै हुनेछ । काठमाडौंमा ८ देखि १० असारसम्म हुनेछ । बुटवलमा महिला र पुरुषतर्फको प्रतियोगिता ११ देखि १३ असारसम्म हुनेछ ।
रेस्लिङ प्रतियोगिता झापामा १८ असारमा हुनेछ । जसमा लाइट वेट च्याम्पियनसिप, ट्याग टिम च्याम्पियनसिप, महिला लाइट वेट च्याम्पियनसिप, मिडल वेट च्याम्पियनसिप, हार्ड कोर च्याम्पियनसिप र हेभी वेट च्याम्पियनसिपमा प्रतिस्पर्धा हुनेछ ।
वेट च्याम्पियनसिपको विजेताले ६० हजार, ट्याग टिम च्याम्पियनसिपको विजेताले ७५ हजार, महिला लाइट वेट च्याम्पियनसिपको विजेताले ७० हजार, मिडल वेट च्याम्पियनसिपको विजेताले ९५ हजार, हार्ड कोर च्याम्पियनसिपको विजेताले १ लाख र हेभी वेट च्याम्पियनसिपको विजेताले १ लाख २५ हजार रुपैया हात पार्नेछ ।
चेस प्रतियोगिता बुटवलमा ११ देखि १३ असारमा हुनेछ । विजेताले २० हजार र दोस्रो हुनेले १० हजार रुपैया हात पार्नेछ । बास्केटबल १५ देखि १७ असारसम्म काठमाडौंमा हुनेछ । राष्ट्रिय स्तरको फुल कन्ट्याक्ट कराते १७ र १८ असारमा काठमाडौंमा हुने छ । उपत्यका स्तरीय तेक्वान्दो २० र २१ असारमा ललितपुरमा हुनेछ ।
एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निभाउने राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडीदेखि खेलप्रेमीहरु आवद्ध छन् । एकेडेमी २ सय २५ सदस्यीय कमिटि छ । जसमा विभिन्न खेलकुद विधाका विभाग गठन गरेर काम गरीरहेको छ ।
एकेडेमीले करिब ५१ जिल्लामा जिल्ला कमिटि र २ सय ५ स्थानीय तहमा स्थानीय तह कमिटि गठन गरेको छ । केन्द्रले राष्ट्रिय र प्रदेश स्तरीय, जिल्लाले जिल्ला स्तरीय र स्थानीय तहले स्थानीय तह स्तरीय खेल गति विधिहरु गरीरहेका छन् ।
सो अवसरमा एकेडेमीका सल्लाहकार दीपक ज्ञवाली,उपमहासिचब सुवर्ण श्रेष्ठ,प्रचार बिभाग प्रमुख अमृता अनमोल लगायतले धारणा राख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्