काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकै मञ्चमा देखिएका छन् ।
कांग्रेसको महाधिवेशन शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरे ।
गतबर्षदेखि विवाद भएर पार्टी नै अलग भएको तत्कालीन नेकपाका तीनै जना नेताहरु आज एउटै मञ्चमा देखिएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता यी तीनै जना नेताहरु एउटै मञ्चमा देखिएका थिएनन् । तर लामो समय प्रचण्ड र माधव नेपाल संगसंगै थिए । पछि सर्वोच्चको आदेशको बलमा एमाले र माओवादी व्युताएपछि प्रचण्ड नेपाल पनि अलग भए । नेपाल एमालेमा लामो समय टिकेनन् । माधव नेपालले एमाले नै विभाजन गरेका एकीकृत समाजवादी बनाए ।
राजनीतिक विमतिकाबीच तीन पार्टीका तीन अध्यक्ष एकै मञ्चमा देखिएका छन् । ओली र प्रचण्डसँग एक वर्षपछि एक मञ्चमा एकसाथ देखिएका छन् । ओली नेपाल पाँच महिनापछि एउटै मञ्चमा देखिएका छन् ।
शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्