काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताए ।
उनले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइएको जानकारी दिँदै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहिलो मात्रा दिने तयारी गरिएको बताए । दोस्रो खोप लगाएकामा कोरोना सङ्क्रमणको सङ्ख्या र त्यसको जोखिम पनि कम भएको बताउँदै मन्त्री थारुले खोप प्रदान गर्ने कार्यलाई द्रूत गतिमा अगाडि बढाइएको जानकारी दिए ।
रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले पहिलो खोप लगाएकामध्ये दुई प्रतिशत र दुवै खोप लगाएकामध्ये एक प्रतिशतको मात्र मृत्यु भएको बताए ।
उनले ग्रामीण भेगका नागरिकमा चेतनाको अभावले गर्दा खोप लगाउनेको सङ्ख्या पूर्ण हुन नसकेको जनाउँदै स्थानीय तहको समन्वयमा नागरिकलाई खोजी गरेरै खोप लगाउने तयारी गरिरहेको उल्लेख गरे ।
पूर्वस्वास्थ्य मन्त्री तथा एमाले संसदीय दलका सचिव भोजप्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर नभएको बताए । उनले नागरिकलाई खोप लगाउने विषय, कोभिड नियन्त्रण तथा व्यवस्थापन, स्थानीय पालिकासँग समवन्य र परिचालनका साथै कर्मचारी परिचालनमा प्रदेश सरकारको भूमिका कमजोर भएको टिप्पणी गरे।
उनले प्रतिपक्षले महामारीमा सरकारका योजना तथा मन्त्रीले ल्याएका कार्यक्रम कार्यान्वयनमा सहयोग र सहकार्य गर्न तयार रहेको जनाउँदै बजेट जोगाउने नाममा जनताका सुविधा कटौति गर्ने र विगतको सरकारले ल्याएका राम्रा योजना कटौती गर्न नहुने बताए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले कोरोना नियन्त्रण, व्यवस्थापन तथा पूर्वतयारीमा सरकार असफल भएको र कोभिड नियन्त्रणको विषयले महत्व नपाएको आरोप लगाए । लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले महामारीमा निजी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई उपेक्षा गरेको बताए ।
नेपाल जनस्वास्थ्यकर्मी सङ्घका केन्द्रीय सहकोषाध्यक्ष उमा थापाले विश्व नै कोरोनाबाट आक्रान्त भइरहेको समयमा स्वास्थ्यकर्मीले चौबिसै घण्टा खटेर काम गर्दा पनि मूल्याङ्कन नभएको गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस्