काठमाडौँ । राष्ट्रिय भूमि आयोगसँग रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कार्यसम्झौता गरेको छ । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्नका लागि नगरपालिकाले आयोगसँग आज(बुधबार) कार्यसम्झौता गरेको हो ।
नगर प्रमुख बासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली आयोगको काठमाडौं स्थित कार्यालयमैं पुगेर कार्यसम्झौता गरेका छन् । अघिल्लो सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत् नगरपालिकामा लगत संकलन भैसकेको छ । अघिल्लो आयोग विघटन भएका कारण संकलित तथ्यांक इन्ट्री गर्ने र जग्गा नापजाँचको लागि कन्ट्रोल पोइन्ट राख्ने कार्य रोकिएका थिए । वर्तमान सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगसँग कार्यसम्झौता गरेसँगै अब प्रक्रियाअनुसार भूमि समस्या समाधानको काम अघि बढ्ने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिएका छन् ।
तिलोत्तमाका १ हजार ७ सय ४० जनाले भूमिहीन सुकुम्बासी, ६ सय १९ जनाले भूमिहीन दलित, र ५ हजार ५ सय ५९ जनाले अव्यवस्थित बसोबासीको लगत संकलन फारम भरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सबैभन्दा बढी वडा नं. ११ बाट आयोगको लगत संकलन फारम भरिएको छ भने वडा नं. १७ मा सबैभन्दा कमले फारम भरेका छन् ।
नगरपालिकाले यसअघि नैं फिल्ड कार्यको लागि आवश्यक उपकरणको व्यवस्थापन, नापजाँचको लागि जनशक्ति व्यवस्थापन गरिसकेको थियो । अमिन र सर्वेक्षक गरी १६ जनाको जनशक्ति नापजाँचको लागि खटिएका थिए । भूमिको स्वामित्व दिलाउने कार्यलाई आफूहरुले प्राथमिकतामा राखेको नगर प्रमुख घिमिरेले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्