रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिकामा तीन आर्थिक वर्षको अहिलेसम्मको अवधिमा १ सय ५० भन्दा बढी घरमा टिनको छाना टल्किएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका १ सय ७२ विपन्न परिवारको घरका खरका छाना हटाइएको हो ।
कार्यक्रम लागू भएको सुरुको वर्ष अर्थात् आव २०७६/७७ मा सिस्ने गाउँपालिकाका ३० घरपरिवारले सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरको छाना हटाएर टिनको छाना हालिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिए ।
उनका अनुसार आव २०७७/७८ मा ७६ घरपरिवारले टिनको छाना हालेका थिए । चालु आवको अहिलेसम्मको अवधिमा भने ६६ घरपरिवारले टिनको छानो फेरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।
चालु आवमा टिनको छाना फेरेका ६६ जनालाई भुक्तानीसमेत दिइसकेको गाउँपालिकाले जनाएको छ । खरको छाना हटाइ टिनको छाना हाल्नका लागि सम्झौता गरेकामध्येमा ८७ घरपरिवार अझै बाँकी छन् । उनीहरूमध्ये कतिपयले घर बनाइसकेका छन् भने कतिपयले बनाएका छैनन् ।
गाउँपालिकाभरबाट टिनको छानाका लागि भनेर ५ सय ८३ वटा निवेदन परेका थिए । त्यसमध्येमा छनोटमा ३ सय ९ घर परेका थिए भने सम्झौता २ सय ५९ घरपरिवारको भएको थियो ।
प्रतिक्रिया दिनुहोस्