काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भाइसँग शपथ खान्न भनेपछि २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनबाट आएको सांसदलाई महिन्द्र राय यादवले शपथ खुवाउन पाएनन् । समाचारस्रोतका अनुसार रायसँगको भेटमा ओलीले भनेका थिए ‘हिजो भाई भन्दै आएकासँग आज शपथ खाइदैँन ।’ राय त्यतिबेला शपथ खुवाउने अवस्थामा पुगिसकेका भए पनि ओलीकै कारण उनी पछि सरेको जनाइएको छ । नागरिकतामा राय नै ज्येष्ठ सदस्य देखिन्थे ।
प्राविधिक कारणवश आफ्नो नागरिकतामा उमेर बढी भएको उनले स्विकारेका छन् । संसद सचिवालयको अभिलेखमा पनि उनी प्रतिनिधिसभाका ज्येष्ठ सांसद भनेर चिनिएका छन् । रायले एक समयमा एमालेको राजनीति पनि गरेका थिए । उनी यो निर्वाचनमा सर्लाही–२ बाट निर्वाचित भएका छन् । २०७४ सालको प्रतिनिधिसभाको शपथग्रहण कार्यक्रममा पनि उनी सहभागी भएनन् । ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई शपथ गराए ।
प्रतिनिधिसभामा बिहीबार सांसदहरुको पद तथा गोपनीयताको शपथ भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरुलाई शपथ खुवाए । राणाले बुधबार नै राष्ट्रपतिबाट शपथ खाएका थिए । प्रतिनिधिसभाका अर्का सांसद चित्रबहादुर केसीभन्दा राणा थोरै दिनमात्र जेठा छन् । अघिल्लो संसदमा केसी र राणा थिएनन् । राय बिहीबार शपथग्रहणमा उपस्थित भएनन् । उनी उपस्थित नभएपछि उनको शपथ शुक्रबार भएको छ । संसदका ज्येष्ठ सदस्य राणाले नै उनलाई सिंहदरवारमा शपथ खुवाए । शपथ नखाएसम्म सांसदले संसदको भूमिकामा कुनै पनि काम गर्न नपाउने संवैधानिक व्यवस्था छ । संसद बैठकमा प्रवेश गर्नुअघि अनिवार्य रुपले शपथ गर्नुपर्ने कानुनी प्रावधान छ ।
रायसँगै शुक्रबार खोटाङबाट निर्वाचित प्रतिनिधिसभाका सांसद् रामकुमार राइले पनि शपथ लिएका छन् । बिहीबार शपथमा राई पनि आइपुगेका थिएनन् । बिहीबार २ सय ७० सांसदले शपथ लिएका थिए । प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये डोटीबाट निर्वाचित नेकपा (एकीकृत समाजवादी) का सांसद प्रमेबहादुर आले र नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राइले अब शपथ खान बाँकी छ । आले मातृशोकमा रहेका छन् भनें राई सुत्केरी भर्खरैमात्र सुत्केरी भएकी छिन् । सांसद राणाले सभामुखको भूमिका निर्वाह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्