काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरुवा, बढुवा र वृत्ति विकासमा मापदण्ड तयार गरी लागू गरिने बताए । शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै उनले मापदण्ड र कार्य सम्पादनको मूल्यांकनको आधारमा बढुवा र सरुवाको व्यवस्था कडाइका साथ पालना गरिने तर्क राखे ।
निरीक्षणपछि कार्यालयमा आयोजित कार्यक्रममा लामिछानेले उपस्थित प्रहरी अधिकृत तथा जवान एवम् भिडियो कन्फेरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रदेश कार्यालयका प्रमुख, गण प्रमुख, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा सबै जिल्लाका प्रहरी प्रमुखलाई निर्देशनात्मक सम्बोधन गरे ।
उनले संगठनको बिकास र बिस्तार तथा प्रहरी कर्मचारीको वृत्ति विकास गर्ने कार्यलाई प्राथमिकता दिइने बताए । ‘आवश्यकतानुसारको प्रहरी कार्यलयको भौतिक संरचना छैनन, उनले भने, तल्लो तहका प्रहरी कर्मचारी ब्यारेकमा कष्टपूर्ण तरिकाले सुत्नु परेको अवस्था छ । प्रहरी प्रधान कार्यलयमा कार्यरत कर्मचारीको लागि आवास गृह छैन, स्केलमा पाउनुपर्ने सामान समयमा तोकिए बमोजिम पाउन नसकेको अवस्था छ र महङ्गी अनुसारको राशनको व्यवस्था नहुने अवस्थाको अव अन्त हुने बताए ।
प्रविधिको विकाससँगै त्यसको दुरुपयोगबाट श्रृजित अपराधको अनुसन्धानको चुनौतीको सामना गर्न नेपाल प्रहरीलाई मजबुद बनाउन आवश्यक प्रविधिको विकास प्राथमिकता रहेको लामिछानेले भनाई राखे । उनले प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरणको सृजना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजिकरण गर्न सदैव तत्पर रहेकोसमेत बताए ।
नागरिकको अपेक्षा अनुरुपको चुस्त दुरुस्त सेवा प्रवाह गर्न गराउन उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिँदै लामिछानेले भने, सर्वसाधरणको प्रहरी सेवामा सहज पहुँचको व्यवस्था र दण्डदहिनताको अन्त्यको साथै भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीति व्यवहारमा लागू गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्