काठमाडौं । यस वर्ष २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह कार्यक्रम काठमाडौं महानगरपालिकामा गर्ने निर्णय गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको २५औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
उक्त मूल समारोह समितिको सभापति काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह रहने र प्रमुख अतिथि प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ लाई निमन्त्रा गर्ने निर्णय भएको छ ।
बैठकमा गृहमन्त्री लामिछानेले भूकम्प सुरक्षा आफैमा गहन विषय भएको हुँदा यसको सुरक्षा र व्यवस्थापनबारे जनतालाई सचेत पार्नुपर्ने आवश्यकता औंल्याए ।
बैठकका अध्यक्षसमेत रहेका गृहमन्त्री लामिछानेले भूकम्प जोखिम न्यूनीकरण सम्बन्धी आयोजना गर्ने कार्यक्रमको प्रभावकारिताबारे समीक्षा गर्न आवश्यक भएको बताए । राष्ट्रिय भूकम्प सूरक्षा दिवसमा महानगरपालिका र नगरपालिकाहरुको सक्रिय सहभागिता रहनेमा विश्वास व्यक्त गरे ।
बैठकमा प्रस्तावित यसपालीको नारामाथि आएका सुझावहरुको आधारमा गृह मन्त्रालयले अन्तिम नारा तय गर्ने भएको छ । यसैगरी संघ, प्रदेश, जिल्ला प्रशासन कार्यालयहरु, स्थानीय तहहरुलाई समेत दिवस मनाउन पत्राचार गर्ने निर्णय गरिएको छ ।
आफ्ना धारणा राख्ने क्रममा अधिकांशले भूकम्पबारे आम सर्वसाधारणलाई सचेत गराउन र यसको जोखिमबारे गम्भिर बन्न बर्षैपिच्छे कुनै एकदिन सन्दर्भ पारेर सिमुलेसन अभ्यास (ड्रिल) को कार्यक्रम राख्नुपर्ने सुझाव दिएका छन् ।
गृहमन्त्री लामिछानेले ’नेपालमा भूकम्प सुरक्षा दिवसः वि.स. २०५५ सालदेखि २०७८ सालसम्मका विषयगत प्राथमिकताहरु’ पुस्तक समेत सार्वजनिक गरेका थिए ।
वि.स. १९९० साल माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा वि.स. २०५५ सालदेखि प्रत्येक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईदै आएको छ ।
अधिल्लो वर्षको २४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस ललितपुर महानगरपालिकामा मनाईएको थियो ।
प्रतिक्रिया दिनुहोस्