काठमाडौं, । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिबीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् । सोमबारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आ–आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिबीचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरूले वामपन्थीलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेको बताए । वामपन्थीको एकताको सम्बन्धमा सबैको एकमत रहेको उनको भनाई छ ।
त्यस्तै, सङ्गठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सदस्यहरू एकमत रहेको उल्लेख गरे । बैठकमा करिब ३० जना सदस्यले आफ्नो धारणा राख्नुभएको प्रवक्ता खतिवडाले जानकारी दिए । उनले भने, ‘अधिकांश आफ्नो पार्टीलाई सबल बनाएर शक्ति सुदृढीकरण गरिसकेपछि मात्रै हामी सबै उपलब्धि प्राप्त गर्नसक्छौँ ।’
‘वाम एकताको बारेमा, वामपन्थीलाई एकताबद्ध बनाउन पहल गर्ने कुरामा सबैको एकमत छ । निर्णय भएको छैन । अरू कतिपय विषयमा विभिन्न प्रकारका छलफलहरू चलिरहेका छन्’ उनले भने । बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको उनको भनाइ छ ।
प्रवक्ता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभएसँगै आफूलाई समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा धर्मसंकट परेको बताए । व्यक्तिगत रूपमा प्रधानमन्त्री दाहालप्रति सद्भाव भए पनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्