बुटवल । लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरुको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई सहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो ।
त्यस अवसरमा विश्वसम्पदा सूूचीकृतको तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाको संरक्षण एंव सगरहवालाई बौद्धकालीन पार्कका रुपमा विकास गर्न राष्ट्रिय कार्यशालामा जुट्न पदाधिकारीहरुले निर्देशन दिएका छन् ।कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बौद्धकालीन सभ्यताका प्रशस्त अवशेषहरु कपिलवस्तुमा रहेकाले उत्खनन, संरक्षण र विकासका लागि कोषले क्रमशः काम गर्दै अघि बढ्ने बताए । उनले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारीका लागि आवश्यक सम्पूूर्ण प्रक्रिया पूूरा भएको बताए ।
अवलोकनका क्रममा कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जगदीशपुर ताल नजिकै रहेको शाक्यहरुको बध भएको स्थल सगरहवामा प्रस्तर राष्ट्रिय कार्यशाला गर्ने तयारी स्वरुप स्थलगत अवलोकन गरिएको बताए । सगरहवा ताललाई स्थानीय तह, स्थानीय बासिन्दाको समेत अपनत्व हुने गरी बौद्धकालीन सभ्यतालाई प्रस्तरमा उतारेर पर्यटकीय गन्तव्य बनाउने योजना अनुसार कार्यशाला गर्ने परिषदले निर्णय गरिसकेको उनले बताए ।
अवलोकनपछि तिलौराकोट, सगरहवा र सिसहनिया क्षेत्रको संरक्षणका लागि पहिलो चरणमा तत्तकाल पर्खाल निर्माण शुरु गर्नुपर्ने आवश्यकता देखिएकाले सुरु गर्ने सदस्य सचिव सानुराजा शाक्यले बताए । अनुुगमनमा योजना प्रमुख सरोज भट्टराई, कोषका बोर्ड सदस्य विश्वराज पौडेल, अर्का बोर्ड सदस्य रामनरेश कोहांर, परिषद सदस्य गोपी कृष्ण शर्मा, कोषका पुरातत्व विभागका प्रमुख हिमाल उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्