काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साझा बस चढ्ने क्रममा बसको ढोकामुनि काठको पिर्का राखिएको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ । कतिपयले राष्ट्रपतिलाई महारानी भनेर समेत आलोचना गरिरहेका छन् ।
के राष्ट्रपतिलाई महारानी बन्ने शोखले गर्दा साझा बसमा चढ्ने बेला पिर्का राखिएको हो? यसअघि पनि राष्ट्रपति भण्डारी जीपबाट ओर्लिने र चढ्ने बेला त्यस्तै आकारको पिर्का राख्ने गरिएकोमा पनि ट्रोल हुने गरेको थियो ।
यसको वास्तविकता भने अर्कै रहेछ । कुनै पनि फोटो,भिडिओ वा कसैको अपुष्ट सूचनाका आधारमा राखिने स्टाटस वा ट्वीटका आधारमा धारणा बनाउने जमातका कारण धेरै मानिस अमानवीय ट्रोलको शिकार बन्ने गरेका छन् । त्यस्तै जमातले अहिले राष्ट्रपतिका बारेमा अशिष्ट टिप्पणी गरिरहेको छ ।
राष्ट्रपतिलाई अग्लो ढोका भएको गाडी चढ्ने र ओर्लिने बेला किन पिर्का राखिन्छ ? यसबारे नेपाल प्रेसले जननेता मदन भण्डारीका कान्छा भाइ कैलाश भण्डारी जो अर्थोपेडिक डाक्टर समेत हुन्,उनीसँग बुझ्न खोज्दा अहिले ट्रोल गर्नेहरु कतिसम्म अमानवीय हुन् भन्ने प्रष्ट भयो ।
राष्ट्रपतिका देवर डा.भण्डारीका अनुसार कम्मरको जोर्नीका दुवै हड्डी प्रत्यारोपण गरिएका कारण गाडी चढ्दा र ओर्लिदा ढोका र भुइको बीचमा पिर्का आवश्यक परेको हो । ‘हिप रिप्लेसमेन्ट’ गरेका व्यक्तिहरुले यस्तो सावधानी नअपनाउने हो भने ‘हिप डिसलोकेट’ हुन्छ ।
डा.भण्डारीले भने–उहाँको ब्लड क्यान्सरको किमो दिने बेलामा कम्मरको जोर्नीको दुवै गेडी मरेका कारण सन् २००८ मा दिल्लीको एपोलो अस्पतालमा हिप प्रत्यारोपण गरिएको थियो । त्यसबेला ‘बाइलाटरल हिप रिप्लेसमेन्ट’ गरेर मेटलको जोर्नी राखिएको छ । त्यसका लागि अग्लो गेट वा ढोका पार गर्न हुन्न,खुम्च्याएर धेरै माथि उलाल्यो भने कम्मरको जोर्नी खुस्किन्छ र फेरि प्रत्यारोपण गर्नुपर्ने हुन्छ । अलिकति अग्लो गाडी भयो भने त्यस्तै साइजको पिर्का बीचमा नराखी सम्भव हुँदैन । यस्तो मानवीय समस्या नबुझ्ने मान्छेहरुले बिगतमा पनि यस्ता कमेन्ट गरेका छन् । उनीहरुलाई अरुण सुवेदीजीले राम्रो जवाफ दिनुभएको थियो ।’
निवर्तमान प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले विगतमा यस्तो ट्रोल गर्नेहरुलाई जवाफ दिएका रहेछन् । सुवेदीकी पत्नीको पनि राष्ट्रपति भण्डारीकै जस्तो हिप रिप्लेस गरिएको रहेछ । नेपाल प्रेस
प्रतिक्रिया दिनुहोस्