काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सबै सांसदका प्यारा बनेका छन् । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । आजको बैठकमा २७० जना उपस्थित थिए ।
प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलसमेतले मत दिएका छन् ।
प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् । २७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् ।
एमालेसहित ७ दलका १६९ सांसदको समर्थनमा पुस १० गते प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी नियुक्त हुँदा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपाले पनि विश्वासको मत दिएका छन् ।
सदनमा बोल्दै प्रचण्डले प्रतिपक्ष दलको पनि समर्थनसहित आफूले असाधारण मत पाएको बताए । सबैको समर्थनपछि जनताको लागि गरेको प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर पाएको उनको भनाइ थियो ।
प्रधानमन्त्रीले भने, ‘मैले समग्रमा जे अपिल गरे । त्यसको निकै नै सकारात्मक जवाफ प्राप्त भएको छ । म सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।’
२०५१ सालको नजीरलाई हेर्ने हो भने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारलाई कांग्रेस प्रतिपक्षी बसेपनि विश्वासको मत दिएको थियो । एमालेका अधिकारीले प्रतिनिधि सभामा उपस्थित सबै सांसदहरुबाट विश्वासको मत पाएको स्मरणनै छ ।
प्रतिनिधि सभाका २०२ जना सांसदहरुमध्ये १९८ जना संसद बैठकमा उपस्थित थिए । तीमध्ये कांग्रेसका रामचन्द्र पौडेल सभामुख भएकाले मतदान गरेनन् भने कांग्रेसका महन्थ ठाकुर, बलबहादुर केसी र बज्रकिशोर सिंह अनुपस्थित थिए । अरु सबैले अधिकारीलाई विश्वासको मत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्