लेखक:केशव राज ढकाल सह-प्राध्यापक भुगाेल शिक्षा त्रिभुवन विश्व विद्यालय।
खबर पाेष्ट, काठमाडौँ । जलवायु परिवर्तनमा योगदान गर्ने देश र त्यसबाट बढी प्रभावित हुने देशबीच ठूलो असमानता देखिन्छ जलवायु परिवर्तन आज विश्वव्यापी वातावरणीय चुनौती मात्र नभई न्याय, समानता र मानव अधिकारको विषय पनि बनेको छ। जलवायु परिवर्तनमा योगदान गर्ने देश र त्यसबाट बढी प्रभावित हुने देशबीच ठूलो असमानता देखिन्छ। नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि हिमाली भौगोलिक अवस्थिति, कमजोर पूर्वाधार र सामाजिक–आर्थिक संवेदनशीलताका कारण जलवायुजन्य जोखिमको सामना गरिरहेको छ। २०८३ भाद्र १० मा भएको विनाशकारी भोटेकोशी बाढीले यस विषयलाई अझ स्पष्ट रूपमा उजागर गरेको छ।
भोटेकोशी बाढीलाई केवल प्राकृतिक विपद्का रूपमा बुझ्नु पर्याप्त हुँदैन। यस घटनाले जलवायु जोखिम, हिमाली वातावरण, विपद् जोखिम, विकास, असमानता र न्यायबीचको सम्बन्धलाई उजागर गरेको छ। नेपालजस्तो कार्बन न्यून उत्सर्जन गर्ने तर जलवायु जोखिममा रहेको देशले जलवायु परिवर्तनबाट भएको क्षति तथा नोक्सानीका लागि अन्तर्राष्ट्रिय सहयोग, जलवायु वित्त र प्राविधिक सहकार्यको माग गर्नु जलवायु न्यायको महत्वपूर्ण पक्ष हो। हाल भोटेकोशी विपद्को क्षतिलाई अन्तर्राष्ट्रिय जलवायु न्यायको मुद्दाका रूपमा उठाउनुपर्ने बहस पनि तीव्र भएको छ।
यस सन्दर्भमा भूगोल शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। भूगोलले विद्यार्थीलाई प्राकृतिक प्रक्रिया र मानव क्रियाकलापबीचको अन्तरसम्बन्ध बुझ्न सक्षम बनाउँछ। भोटेकोशी बाढीलाई स्थानीय घटना अध्ययनका रूपमा प्रयोग गरी विद्यार्थीले नदी प्रणाली, हिमनदी, हिमताल, भू–आकृति, जलवायु परिवर्तन, बाढीको जोखिम, बस्तीको अवस्थिति र पूर्वाधारको जोखिमको अध्ययन गर्न सक्छन्। नक्सा, GIS, GPS, Google Earth तथा satellite image प्रयोग गरी बाढीको मार्ग, प्रभावित बस्ती र जोखिम क्षेत्र पहिचान गर्न सकिन्छ।
भूगोल शिक्षाले विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीलाई पनि व्यवहारिक बनाउँछ। नेपालमा विद्यालय तहको भूगोल शिक्षा अझै पर्याप्त रूपमा स्थानीय जोखिमसँग जोडिन जरुरी छ। स्थानीय भौगोलिक अवस्थाअनुसार जोखिम पहिचान, hazard mapping, early warning system, evacuation planning र community preparedness जस्ता विषयलाई शिक्षणमा समावेश गर्नुपर्ने आवश्यकता छ।
भोटेकोशी घटनाले अर्को महत्वपूर्ण प्रश्न पनि उठाएको छ—विपद्को भार कसले बोक्ने? बाढीबाट विद्यालय, पुल, सडक, जलविद्युत् आयोजना, घर तथा जीविकोपार्जनमा ठूलो क्षति पुगेको छ। विद्यालयसमेत प्रभावित भएका छन्। त्यसैले भूगोल शिक्षाले विद्यार्थीलाई केवल विपद्को कारण र प्रभाव सिकाउने होइन, जलवायु न्याय, समानता, जिम्मेवारी, अनुकूलन र दिगो विकासबारे आलोचनात्मक सोच विकास गर्नुपर्छ।
भोटेकोशी बाढी नेपालमा भूगोल शिक्षालाई अझ स्थानीय, अनुसन्धानमुखी, प्रविधिमैत्री र कार्यमुखी बनाउने महत्वपूर्ण अवसर हो। विद्यार्थीले आफ्नो स्थानीय नदी, बस्ती र जोखिम क्षेत्रको अध्ययन गर्दै तथ्यमा आधारित समाधान प्रस्ताव गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ। यसरी भूगोल शिक्षा केवल पाठ्यपुस्तकको विषय नभई जलवायु न्याय, विपद् न्यूनीकरण र जलवायु–उत्थानशील समाज निर्माण गर्ने माध्यम बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस्