Ads

लुम्बिनी प्रदेशको सभामुखमा घर्ती र उपसभामुखमा मेनुका खाणको उम्मेदवारी, कांग्रेस उपसभामुखको दाउँमा


पन्देही । लुम्बिनी प्रदेशको सत्ता पक्षले सभामुख तथा उपसभामुखका उम्मेदवार टुंगो लगाएको छ । विपक्षी दलबाट भने अझै उम्मेदवारको टुंगो लागेको छैन ।

सत्तारुढ दलबाट सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीको भागबन्डामा परेको छ । उहाँहरू दुवैले आफ्नो उम्मेदवार तयार गरेका छन् ।

माघ ३ गते हुने सभामुखका लागि माओवादी केन्द्रबाट पाल्पा २ को २ बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीको उम्मेदवारी रहने छ ।

उपसभामुखका लागि राप्रपाले गुल्मीबाट समानुपातिक सांसद बनेकी मेनुका खाण केसीलाई उम्मेदवारी रहनेने छ ।

८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरूको समर्थन रहेको छ । नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४।४, जसपा, जनमत, लोसपाका ३।३ र दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन् ।

प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, १ सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् । सत्ता पक्षसँग स्पष्ट बहुमत भएकाले नेपाली कांग्रेसले अन्तिम समयसम्म पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले अन्तिम समयसम्म पनि दलहरुबीच सहमतिको प्रयास भइरहेको जानकारी दिए । सहमतिको प्रयास भएको छ, हामीले सभामुख दाबी गरेर प्रस्ताव गरेका छौँ तर उपसभामुख भएपनि हामी सहकार्य गर्न तयार छौँ,’ पुनले भने । ‘सहमति नभए हामीले उम्मेदवारी दिनेगरी अगाडि बढेका छौँ, अहिले नै कसलाई पठाउने भन्नेबारे टुंगो लगाएका छैनौँ ।’

कांग्रेसको यो प्रस्तावका विषयमा सत्तारुढ दलले कुनै निर्णय भने गरेका छैनन् । आज छलफलका लागि उनीहरू बैठक बस्ने तयारीमा छन् ।

Ads

सम्बन्धित पोष्टहरू