काठमाडौँ, । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ । महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गरेका हुन् ,।
प्रकाशित कार्यतालिका अनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ । बुधबार ४ः१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ। प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन्। सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन् । सबै प्रस्तावमा सोही प्रक्रिया चल्नेछ । छलफल सकिएपछि निर्वाचनको प्रक्रिया अपनाइनेछ । एक मात्र प्रस्ताव परेको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ । मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ । कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ ।
सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा (एमाले)ले उम्मेदवार बनाउने निश्चित छ । एमालेले देवराज घिमिरेलाई अघि सार्ने करिब निश्चितजस्तै छ । नेपाली कांग्रेसलगायतका अन्य दलबाट सभामुखको उम्मेदवार टुङ्गो लागेको छैन ।
एमालेबाट गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रुपन्देहीबाट निर्वाचित छविलाल विश्वकर्मा तथा कास्कीबाट निर्वाचित विद्या भट्टराईको नाम चर्चामा थियो ।
प्रतिक्रिया दिनुहोस्