काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ब्रिफिङ सुनेपछि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अब गृहमन्त्री बनाउँदा विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका छन् ।
महासचिव गुरुङले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् । ‘(गृहमन्त्री कसलाई बनाउने) दबाव दिने कुरा भएको छैन, हुनुहुँदैन, उनले भने, यसबारे छुट्टै परामर्श लिन परेन । प्रधानमन्त्रीको कुरा हो’
सर्वोच्च अदालतले गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमाएका थिए । त्यसपछि रविले प्रक्रिया पु¥याएर नागरिकता पनि लिइसकेका छन् । त्यसपछि उनले आफूलाई पुन गृहमन्त्री बनाउन दबाव दिइरहेका छन् ।
यस विषयमा प्रधानमन्त्री प्रचण्डले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गरेका छन् । यही विषयमा प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग समेत छलफल गरिसकेका छन् ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको भेटबारे प्रधानमन्त्री प्रचण्डले बुधबार पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई ब्रिफिङ गरेका छन् । ब्रिफिङपछि माओवादीका महासचिव देव गुरुङले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्