काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका छन् । वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता केसीले पार्टी नेतृत्वले सहि निर्णय दिन नसक्दा पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका हुन् ।
नेता केसीले कांग्रेसलाई अहिले सरकारमा जान कुनै हत्तारो नभएको पनि बताए । उनले मुलुकमा देखिएका बिभिन्न समस्या समाधानका लागि राष्ट्रिय सहमति खोज्नुपर्नेमा कांग्रेसको जोड रहेको धारणा राखे ।
सभामुख, प्रधानमन्त्री बिभिन्न पार्टीको भइसकेको अवस्थामा राष्ट्रपति कांग्रेसले पाउँदा बृहत शक्ति सन्तुलन हुने उनले दाबी गरे । उनले गृह मन्त्रालयका बिषयमा शक्ति र सत्तामा झगडा सुरु भइरहेको जिकिर पनि गरे । केसीले गठबन्धनभित्र स्वतन्त्र पार्टीलाई नै गृह मन्त्रालय दिने सहमति भएको हो भने रास्वपाका अन्य सांसदहरुलाई उक्त मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिए ।
ठूला ठूला आदर्शका कुरा गरेर आएकाहरुले सत्ताका लागि झगडा गर्न नसुहाउने उनले बताए । नेता केसीले देश भ्रष्टाचारको महामारीले असफलतातिर गएको पनि बताए । देशको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया दिनुहोस्