Ads

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीले आममाफी पाउने


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई सरकारले आममाफी दिएर छुटाउने भएको छ । उनलाई प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते छुटाउने तयारी गरिएको हो । गृह मन्त्रालयले महान्याधिवक्ताको कार्यालयमा चौधरीको सजाय माफी मिनाहाका लागि पत्र लेखेको छ ।

पत्रमा २०७९ फागुन ७ गते प्रजातन्त्र दिवसको दिन चौधरीलाई माफी मिनाहाका लागि निवेदन सरकारले गरेको हो । यसका लागि फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ को उपदफा (५) बमोजिम उक्त मुद्दाहरूको सजाय र फैसला अदालतबाट अन्तिम किनारा भएको वा नभएको यकिन गरी पठाउन महान्यायाधीवक्ताको कार्यालयसँग सरकारले आग्रह गरेको छ ।

अदालतले ८ लाख १९ हजार बिगो तिराउने गरी चौधरीको नाममा फैसला गरेकोमा त्यो रकम पनि माफी गर्न सकिने वा नसकिने राय सरकारले महान्यायाधिवक्ताको कार्यालयसँग माग गरेको छ । चौधरीविरुद्ध लम्कीचुहाका महादेव बजगाईंले आफ्नो ट्याक्टर जलाएको भन्दै उजुरी दिएका थिए । चौधरीले २०६६ भदौ ३ गते आफ्नो नाममा रहेको लु २ त २११ नम्बरको ट्याक्टरमा आगो लगाई त्यसबाट ८ लाख ७५ हजार रुपैयाँ क्षति भएको भन्दै कारवाहीका लागि उनले उजुरी दिएका थिए ।

सोही मुद्दामा २०७० सालमा जिल्ला अदालत कैलालीले उनीसहित ३ जनालाई ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। तीनजना आरोपितहरु नै प्रहरीसमक्ष आत्मसमर्पण नगरी फरार भएकोमा उनी सांसद निर्वाचित भइसकेपछि प्रहरीले गत माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो । ६ महिनासम्मको कैद सजायमा जरिवाना तिरेर छुट्न सक्ने भए पनि चौधरी जरिवाना नतिरी अहिले थुनामै बसेका छन् भने उन्मुक्तिले चौधरीको रिहाइको माग गरिरहेको छ ।

चौधरी पक्राउ परेपछि उनको पक्षमा माघ २२ गते  जिल्ला अदालत कैलालीको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै फैसला बदरको माग गर्दै उत्प्रेषण परमादेशको लागि रिट दायर भएको थियो । उक्त रिटमा माघ २९ गते उच्च अदालत दिपायलले चौधरीलाई रिहा गर्न अन्तरिम आदेश दिन इन्कार गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू