Ads

पुस १० को सहमति कार्यान्वयनमा नआए सरकारमा बस्दैनौँ : भट्टराई


काठमाडाैँ, । नेकपा (एमाले) का सचिव योगेश भट्टराइले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने नेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल रुकुम पश्चिमको पत्रकार सम्मेलनमा उनले एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म टिकोस् भन्ने पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे सरकारमा नरहने स्पष्ट गरेका छन् ।

विभिन्न मिडियामा आएको जस्तो पुरानो चुनावी गठबन्धन सरकार बन्ने भन्ने बारेमा प्रधानमन्त्रीको कुनै धारणा नआएको उनले बताए । सत्ता समीकरण फेरिनु नहुने उनको भनाइ छ । छिटोछिटो सत्ता समीकरण फेरिँदा देशको छवि नराम्रो हुने उनले बताए ।

यसैबीच उनले गत पुस १० को सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । उक्त सहमतिअनुसार नभए एमाले सरकारमा नबस्ने उनको चेतावनी छ । पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको उनले दाबी गरे । सोही सहमतिअनुसार सत्ता समीकरणभित्रबाट राष्ट्रपतिमा एमालेको साझा उम्मेदवार हुनुपर्ने उनको भनाइ छ ।

“तत्कालीन गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुस १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो”, उनले भने, “सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ, अहिले पनि सहमतिअनुसार नै सत्ता समीकरण चलिरहेको छ, एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ ।”

Ads

सम्बन्धित पोष्टहरू