काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी करिब साढे ७ वर्ष कार्यकाल राष्ट्रपतिको जिम्मेवारी पुरा गरेर शीतलनिवासबाट बिदा भएकी छन् । भण्डारी लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो र नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् । देशको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो महिलाको रेकर्ड पनि उनले कायम गरेकी छन् ।
भण्डारी २०७२ साल कात्तिक ११ गते नेपालको व्यवस्थापिका–संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी थिइन् । उनी राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिलासमेत हुन् । पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपति पदमा निर्वाचित भएर २०७४ फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी थिइन् ।
के पाउँछन् पूर्वराष्ट्रपतिले सेवा सुविधा ?
सरकारले पूर्वराष्ट्रपतिलाई विभिन्न सेवा–सुविधा उपलब्ध गराउने गरेको छ । पूर्वपदाधिकारी तथा विशिष्ट व्यक्तिलाई उपलब्ध गराइने सुविधासम्बन्धी मापदण्डमा राष्ट्रपति तथा उपराष्ट्रपति र अन्य पदाधिकारीलाई उपलब्ध गराउने सेवा–सुविधासम्बन्धी व्यवस्था छ ।
मापदण्डअनुसार पूर्वराष्ट्रपतिका लागि सरकारले २ लाख घरभाडा, मासिक ५० हजार रुपैयाँसहित अन्य सुविधा उपलब्ध गराउने गरेको छ । यस्तै उपराष्ट्रपतिलाई मासिक ७५ हजार घरभाडासहित ४० हजार दिने व्यवस्था छ । पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलगायत पदाधिकारीलाई भत्तासँगै प्रति व्यक्ति एउटा गाडी, गाडीमा लाग्ने मासिक २ सय लिटर इन्धन, मोबिल, मर्मत खर्च, सवारी चालक, कर्मचारी, कार्यालय सहयोगीसमेत राज्यले उपलब्ध गराउने व्यवस्था छ ।
पूर्वराष्ट्रपतिको काठमाडौं उपत्यका वा अन्य प्रदेशका राजधानीमा घर भएको भए मर्मतका लागि भत्तासहित मासिक १ लाख रुपैयाँ दिने व्यवस्था छ । घर नभएका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भत्तासहित मासिक ७५ हजार रूपैयाँ छुट्टाइएको छ । उपत्यका र प्रदेश मुकाममा घर भएका राष्ट्रपतिबाहेकका पूर्वपदाधिकारीलाई मर्मतका लागि मासिक भत्तासहित ३४ हजार रूपैयाँ छुट्टै दिने व्यवस्था छ ।
मासिक भत्ता, आवास सुविधासहित गाडी, निजी सचिवालय कर्मचारीको व्यवस्था, सुरक्षा व्यवस्था राज्यले उपलब्ध गराउने मापदण्डमा उल्लेख छ । कुनै प्रदेशको राजधानीमा वा काठमाडौंमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक २ लाख र अन्य पदाधिकारीलाई मासिक ७५ हजार रूपैयाँ घरभाडा उपलब्ध गराउने व्यवस्था छ ।
पूर्वपदाधिकारीलाई स्वदेशका सरकारी अस्पतालमा भर्ना हुँदा र उपचार गराउँदा लागेको अस्पतालको बिलबमोजिमको उपचार खर्च र चिकित्सकको प्रेस्किप्सनबमोजिम खरिद गरेको औषधि खर्च वापतको रकम उपलब्ध गराइन्छ । विशिष्ट व्यक्तिलाई नेपाल सरकारले उचित ठह¥याएको औषधि उपचारको रकम उपलब्ध गराइन्छ ।
तर, राष्ट्रपति वा उपराष्ट्रपति तथा पूर्वपदाधिकारीले मापदण्ड बमोजिम पाएको सुविधा नलिन वा पाएको सुविधा जुनसुकै बखत पनि फिर्ता गर्न सक्छन् । सुविधा प्राप्त गर्ने पदाधिकारी वा विशिष्ट व्यक्तिको मृत्यु भएमा कानूनबमोजिमका उसका निकतटम हकदारले सम्बन्धित निकायमा १५ दिनभित्र फिर्ता बुझाउनुपर्नेछ । फिर्ता नबुझाएमा मापदण्डबमोजिमको सम्बन्धित निकायले तुरुन्त फिर्ता लिनुपर्नेछ ।
पूर्वपदाधिकारीलाई सवारी साधन मर्मतबापत मासिक २५ हजार रूपैयाँ उपलब्ध गराइन्छ । साथै २ सय लिटर पेट्रोल÷डिजेल, तीन महिनामा ५ लिटर मोबिल दिने व्यवस्था छ । पूर्वराष्ट्रपतिका लागि निजी सचिवालयमा एक जना उपसचिवस्तरका कर्मचारीसहित सवारी चालक एक जना, एक जना कार्यालय सहयोगी राख्न पाउने व्यवस्था छ । राष्ट्रपति बाहेकका अन्य पूर्व पदाधिकारीका लागि शाखा अधिकृत स्तरको एकजना कर्मचारी सहित चालक, कार्यालय सहयोगी दिइन्छ ।
व्यक्तिगतरूपमा सुरक्षाको अवस्था हेरेर सुरक्षाकर्मी राज्यले तोक्ने व्यवस्था छ । सुरक्षा थ्रेटलाई हेरेर सुरक्षाकर्मीको संख्या थपघट गरिन्छि । पूर्व पदाधिकारीले आफूले काम गरेको निकायबाटै ऐनमा तोकिएका सुविधा पाउँछन् । राष्ट्रपतिलाई राष्ट्रपतिको कार्यालय, प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतलगायत गरी आ–आफ्नै निकायबाट मासिक भत्ता, घरभाडा, गाडी, इन्धन, चालक, मर्मत खर्च, कर्मचारी लिनेगरी व्यवस्था छ ।
पूर्वराष्ट्रपति यादवलाई सरकारले घर भाडामा लिएर राखेको छ । यादव काठमाडौंमा आफ्नो घर हुँदाहुँदै सरकारी आवासमा बसिरहेका छन् । भण्डारीले भने सरकारी आवासमा रुची देखाइनन् । आज उनी बालुवाटारस्थित छोरीको घरमा सरेकी छन् । उनको निजीनिवास बुढानिलकण्ठमा छ । त्यहाँ अहिले पुनर्निमाणको काम चलिरहकाले केही दिनका लागि भण्डारी छोरीको घरमा गएकी हुन् । आफ्नो घरको काम सकिएपछि उनी त्यहीँ सर्नेछिन् ।
प्रतिक्रिया दिनुहोस्