Ads

लुम्बिनीमा माओवादी संसदीय दलको बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने


रुपन्देही । लुम्बिनी प्रदेश सरकारकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफलका लागि नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बोलाइएको छ ।

माओवादीको समर्थनमा लुम्बिनी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार बनेको थियो । सो समर्थन फिर्ता लिने विषयमा निर्णय लिन आज माओवादी संसदीय दलको बैठक बोलाएको हो ।

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बिहीबार दिउसो बस्ने माओवादी संसदीय दलको बैठकबाट एमाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बताए ।

‘आज दलको बैठक बसेर समर्थन फिर्तासहितका विषयमा निर्णय हुन्छन उनले भने ।

पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए । तर नयाँ गठबन्धनमा एमाले र राप्रपाबाहेक सबै परेपछि एमालेलाई समस्या परेको हो ।

त्यसो त माओवादीमा पनि नयाँ सरकार बनाउँदा पनि आफूहरूले मुख्यमन्त्री नपाउने अवस्थामा अहिलेकै सरकारलाई निरन्तरता दिने आवाज उठेको छ । माओवादीका ११ सांसदमध्ये ४ जनाले अहिलेकै सरकार निरन्तरता दिनुपर्ने पक्षमा रहेको एक सांसदले बताए । माओवादीभित्रकै विवाद बढेपछि आजको बैठकले के निर्णय गर्छ भन्ने टुंगो नभएको ती सांसदले बताए ।

केन्द्रमा समीकरण फेरिएपछि सोही अनुसार ती दलले एमाले नेतृत्वको सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी यसअघि नै थाले पनि प्रदेशको नेतृत्वको विषयमा कांग्रेस माओवादीबीच कुरा नमिल्दा रोकिएका हुन् ।

प्रदेशमा एमाले पहिलो दल छ । उनीहरुले समर्थन फिर्ता लिँदा सरकार बनाउने प्रक्रिया लामो हुने भएकाले सकेसम्म एमालेलाई राजीनामाका लागि दबाब दिने योजनामा रोकिएका थिए ।

अहिले सरकारमा सहभागी दलबीच कुरा नमिले सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सक्ने संकेत नयाँ गठबन्धनले पाएका छन् । तर त्यो अवस्थामा पनि बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन आह्वान गर्ने तयारी भइरहेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू