काठमाडाैँ, । नेकपा एकीकृत समाजवादीबाट मंगलबार राजीनामा स्वीकृत भएपछि नेता चुडामणि जंगलीलगाएतका नेता एमालेमै फर्किने तयारी अन्तीम चरणमा पुगेको छ । उनीसहित नेकपा एसका संस्थापक नेताद्वय मुकुन्द न्यौपाने र केदार न्यौपानेले पनि एमाले फर्किने संकेत गरेपछि छलफलमा जुटेका हुन् । केदारको राजीनामा स्वीकृत भइसकेको छ भने न्यौपाने छलफलमा छन् ।
यतिवेला उनीहरुसहित नेकपा एसका थप नेताहरुलाई एमालेमा फर्काउन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सक्रिय देखिन्छन् । उपमहासचिव गुरुङ गण्डकी प्रदेशमा एकीकृत समाजवादीका बलिया मानिएका नेताहरुलाई एमालेमा फर्काउन छलफल तथा भेटघाट गरिरहेका छन् ।
एमाले स्रोतका अनुसार केन्द्रीय उपाध्यक्षसमेत रहेका केशवलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, हालका अध्यक्ष श्रीराम कार्की, एकीकृत समाजवादी तनहुँका पूर्वअध्यक्ष शंकरनारायण श्रेष्ठ एमालेमै फर्कने गरी छलफल भईरहेको छ । ‘उहाँहरु आउन खोजिरहनुभएको छ, एमालेबाट कुन पद दिने छलफल भइरहेको छ । बिहीबार बस्ने पार्टीको सचिवालय बैठकले यस विषयमा निर्णय गर्ला’, स्रोतले भन्यो ।
एकीकृत समाजवादीले तनहुँ १ मा बैशाख १० गते हुने उपनिर्वाचनमा टिकट नपाउने भएपछि केही नेताहरु एमाले फर्केर भए पनि चुनाव लड्न चाहन्छन् । एमाले पनि अर्को पार्टीबाट भित्र्याएर भए पनि उक्त क्षेत्रमा जीत निकाल्ने दाउमा देखिन्छ ।
तनहुँ १ मा एमालेबाट किरण गुरुङ र पूर्वआईजीपी सर्वेन्द्र खनाललाई सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । ‘किरणले चाहेको खण्डमा किरणले नै टिकट पाउने सम्भावना छ । तर, पार्टीलाई बलियो बनाउन अन्य पार्टीबाट ल्याएर पनि उक्त क्षेत्र सुरक्षित राख्ने कि भन्ने पनि छ’, एमाले स्रोतले भन्यो ।
प्रतिक्रिया दिनुहोस्