काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान महाधिवेशन आगामी २७ र २८ गते काठमाडौंमा हुँदैछ । विधान अधिवेशनका लागि प्रदेश स्तरमा छलफल भइरहेको पार्टीले जनाएको छ । भइरहेको सञ्रचना हटाएर नयाँ प्रकारको बनाउने र पार्टीलाई थप प्रभावकारी बनाउँदै लैजाने सुझाव आएको पार्टीका नेताहरुले बताएका छन् ।
चैत्र १५ गतेसम्म प्रदेशमा छलफल गरेर केन्द्रमा सुझाव पठाउनका लागि पार्टीले समय तोकेको थियो । छलफलमा सह–अध्यक्ष र वरिष्ठ अध्यक्ष हटाएर वरिष्ठ नेता राख्ने प्रस्ताव आएको छ । अहिले राजेन्द्र श्रेष्ठ सह–अध्यक्ष र अशोक राई वरिष्ठ अध्यक्ष रहेका छन् । श्रेष्ठ प्रतिनिधिसभाको यो निर्वाचनमा काठमाडौं ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुलीसँग पराजित भएका छन् । राइले भनें सुनसरी १ बाट प्रतिनिधिसभाको निर्वाचन जिते । अध्यक्ष नामको एउटामात्र पदमा राख्ने गरी छलफल अघि बढेको पार्टीले जनाएको छ ।
प्रदेशको छुट्टै पहिचान झल्किने गरी संसदमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग पनि गरिएको छ । ‘पहिचान, सुशासन र समृद्धि’ मूल नारा लिएको पार्टीले विभागीय प्रमुख हुन केन्द्रीय सदस्य हुनु नपर्ने प्रस्ताव पनि अघि सारेको छ । अहिले विभागीय प्रमुख हुन केन्द्रीय सदस्य नै हुनुपर्ने व्यवस्था छ । विभागीय इन्चार्जको जिम्मेवारी पदाधिकारीलाई दिइने अहिलेको व्यवस्था छ । कोही विज्ञ आए सिधैं विभाग प्रमुख हुन पाउने गरी सुझाव आएको छ । पार्टीले हरेक विभाग र निकायमा अनिवार्य रुपमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गर्न लागेको छ ।
जिल्ला अध्यक्ष पदेन प्रदेश कमिटी सदस्य रहने व्यवस्था छ । पार्टीमा ५ वटा विभागीय समिति रहेका छन्, जसअन्तर्गत निर्वाचन विभाग समिति, लेखा विभाग समिति, अनुशासन विभाग समिति, संगठन विभाग समिति र स्कुल विभाग समिति पर्दछन् । उपेन्द्र यादवको नेतृत्वको संघीय समाजवादी फोरम र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएर बनेको जसपामा ५१ जना कार्यकारिणी समिति सदस्य रहेका थिए, अहिले पार्टीमा ३१ जनाको कार्यकारिणी समिति रहेको छ ।
१५ पदाधिकारी रहेको पार्टीले प्रतिनिधिसभाको मंसिर ४ गते भएको निर्वाचनमा ७ वटा निर्वाचन क्षेत्रमा जितेको छ भनें समानुपातिक ५ गरी यो पार्टीबाट प्रतिनिधिसभामा १२ सांसद रहेका छन् । पौष ११ मा मन्त्रिपरिषद् बन्दा भागबण्डामा चित्त नबुझेको भन्दै सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी नभएको जसपाले हिजो विस्तार भएको मन्त्रिपरिषद्मा एकजना मन्त्री पठाएको छ । जसपाले २ मन्त्रालय पाए पनि अर्को मन्त्रीको पठाउने भन्ने विवाद हुँदा अध्यक्ष यादवले एकजनाको मात्र नाम पठाए । जसपाबाट पार्टीका वरिष्ठ अध्यक्ष तथा सुनसरी १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद अशोक राई शिक्षामन्त्री भएका छन् ।
जसपाले चैत्र ५ गतेदेखि विधानमाथि छलफल गरिरहेको छ । छफललका लागि प्रदेशले वकिलसँग पनि सहकार्य गरिरहेको नेताहरुले जनाएका छन् । विधान मस्यौदा समितिको प्रमुख पनि अध्यक्ष यादव नै रहेका छन् । जिल्लामा छलफल गरेर ती सुझाव प्रदेश समितिमार्फत केन्द्रमा आउने व्यवस्था भए पनि कतिपय अवस्थामा भनें जिल्लाले पनि सिधै केन्द्रमा पठाउन सक्ने व्यवस्था रहेको छ । अहिले भइरहेको ६ सयभन्दा बढीको केन्द्रीय समितिलाई घटाएर १ सय ५१ सदस्यीय मात्र बनाउने सुझाव आएको छ । १ सय ५१ जना रहेको राजनीतिक समितिलाई पनि हटाएर केन्द्रीय समितिको सट्टा केन्द्रीय कार्यकारिणी समिति बनाउन प्रस्ताव गरिएको छ , यसमा १ सय ५१ सदस्य रहने छन् ।
छलफलमा आएको सुझावलाई आधार मान्ने हो भनें संघीय केन्द्रीय परिषद् पनि हट्ने छ । परिषद्मा पदाधिकारी, केन्द्रीय समिति सदस्यहरु, विभाग समिति सदस्य, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, जिल्ला पदाधिकारी, भ्रातृ संगठनका पदाधिकारी, राजनीतिक समिति र कार्यकारिणी समिति सदस्यहरु रहने छन् । संघीय केन्द्रीय परिषद्को अध्यक्ष अशोक राई छन् । यसअघि यसको अध्यक्ष वावुराम भट्टराई थिए । भट्टराइले पार्टी छोडेर गएपछि राइलाई जिम्मेवारी दिइएको हो । सल्लाहकार समितिमा अध्यक्ष पदेन सदस्य र राजनीतिक समितिका सदस्यहरु सदस्य रहने व्यवस्था छ ।
छलफलमा अध्यक्षलाई निर्णायक अधिकार दिने प्रस्ताव पनि गरिएको छ । अहिले पनि पार्टीमा केही विवाद भए अन्तिम टुंगो लगाउने र निर्णय गर्ने अधिकार अध्यक्षलाई नै दिइएको छ । नयाँ विधान पारित भए यादव थप शक्तिशाली बन्ने छन् । पटक पटक उपप्रधानमन्त्रीसमेत भइसकेका अध्यक्ष यादव गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) सँग पराजित भएका थिए । यो क्षेत्रमा प्रदेशका दुईवटा क्षेत्रमा पनि जनमत पार्टीले नै जितेको छ ।
प्रतिक्रिया दिनुहोस्