काठमाडौं । आगामी १० गते हुने उपनिर्वाचनमा गत मंसिर ४ गते भएको निर्वाचनमा पराजित ३ जना फेरि पनि मुख्य प्रतिस्पर्धा गर्दैछन् । काठमाडौं १ बाट पराजित रमेश खरेल वारा २ बाट, काठमाडौं ६ बाट पराजित सर्वेन्द्र खनाल तनहुँ १ बाट र सप्तरी २ बाट पराजित उपेन्द्र यादव वारा २ बाट प्रतिस्पर्धा गर्दैछन् । वारा २ मा उम्मेदवार भएका खरेल र यादव मंसिर ४ गते प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रबाट नै जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त राउत (सीके) सँग पराजित भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले आफूलाई निर्वाचन क्षेत्र खाली गराउनका लागि नै त्यो क्षेत्रबाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका हुन् । उपराष्ट्रपतिको उम्मेदवारका लागि यादवले सत्ता गठबन्धनसँग ठूलो ‘वार्गेनिङ’ गरेका थिए । केही दिनअघि उपेन्द्रले आफू सांसद जितेर आएपछि मन्त्री नबन्ने र पार्टीको काममा लाग्ने भनेर मिडियामा बोलेका थिए ।
उपेन्द्र सत्ता ‘वार्गेनिङ’ का लागि खतरा खेलाडीका रुपमा चिनिन्छन् । मंसिर ४ को निर्वाचनको उम्मेदवारी दर्ता गराउने बेलासम्म अहिलेको सत्ता गठबन्धनमा रहेका उपेन्द्रले आफ्नो पार्टीलाई एमालेसँग तालमेल गरेर निर्वाचनमा गएका थिए । जसपाले प्रतिनिधिसभाको ७ वटा निर्वाचन क्षेत्र जितेको छ भनें समानुपातिक ५ गरी जसपाका प्रतिनिधिसभामा १२ सांसद रहेका छन् । उपेन्द्र यसअघि नै पटक पटक उपप्रधानमन्त्री भइसकेकाले फेरि पनि उपप्रधानमन्त्रीको लागि ‘वार्गेनिङ’ गर्ने र सत्ता गठबन्धनलाई अप्ठ्यारो पार्ने निश्चित भएको विश्लेषण गरिएको छ ।
उपेन्द्रलाई सिके राउतको पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले राम्रो प्रतिस्पर्धा गरिरहेका छन् । सिके र उपेन्द्रबीच आन्तरिक द्धन्द्ध भएकाले पनि कुशवाह उपेन्द्रका लागि चुनौतीको चाङ बनेर देखापरेका छन् । वारामा एमालेको तर्फबाट पूर्वमन्त्री तथा पूर्व सांसद पुरुषोत्तम पौडेल उम्मेदवार छन् । प्रतिनिधिसभामा तनहुँ १ बाट निर्वाचित कांग्रेस सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा फाल्गुण २५ गते निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।
तनहुँसँगै बारा २ र चितवन २ मा पनि वैशाख १० गते नै उपनिर्वाचन हुँदैछ । वारा २ बाट प्रतिनिधिसभामा निर्वाचित जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रामसहाय प्रसाद यादव चैत्र ३ गते भएको उपराष्ट्रपतिको निर्वाचनमा विजयी भएपछि त्यो क्षेत्र रिक्त रहेको हो । त्यस्तै चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका रवि लामिछानेको नागरिकता विवादमा परेपछि माघ १३ गते उनको सांसद पद गुमेको थियो । सांसद पद गुमेसँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री पनि छोड्नुपरेको थियो ।
निर्वाचन आयोगले विभिन्न कारणले रिक्त तीनवटै क्षेत्रमा एकैदिन उपनिर्वाचन गर्न लागेको हो । नेपाली कांग्रेसले तनहुँ १ बाट स्थानीय नेता गोविन्द भट्टराइलाई उम्मेदवार बनाएको छ । त्यस्तै रास्वपाले भर्खरैमात्र कांग्रेस छोडेका डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ । वाग्लेको उम्मेदवारीले भट्टराइलाई पनि चुनौती थपिएको छ । भट्टराई र वाग्लेले एकै प्रकारका मतदाताको मन जित्ने भएकाले आफू जित्ने दाउमा एमाले छ ।
एमालेले स्थानीय नेतालाई उम्मेदवार नबनाएकाले पनि थप समस्या परेको छ । स्थानीय नेता भट्टराइको र अर्थशास्त्रीसमेत रहेका र नयाँ अभियानमा लागेका वाग्लेको उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको छ । एमालेका उम्मेदवार खनाल मंसिर ४ मा भएको निर्वाचनमा रास्वपाका उम्मेदवार शिशिर खनालसँग काठमाडौं ६ मा पराजित भएका थिए । नेपाल प्रहरीका २६ औं पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका सवेन्द्र खनाल पछिल्लो समयमा एमालेको राजनीतिमा लागेका हुन् । काठमाडौ ६ मा सवेन्द्र खनाल दोस्रो भएका थिए ।
विजेता शिशिर खनालले ११ हजार ९ सय ९६ मत पाउँदा दोस्रो भएका सर्वेन्द्रले ८ हजार १९ मत ल्याएका थिए । त्यसैगरी तेस्रो भएका कांग्रेसका भीमसेनदास प्रधानले ७ हजार ५ सय ७७ मत पाए । प्रधान त्यसअघि दुई पटक यही क्षेत्रबाट निर्वाचित भएर मन्त्रीसमेत भएका थिए । यो क्षेत्रमा राप्रपाले प्रत्यक्षतर्फ ४ हजार ६ सय १० मत ल्याएको थियो । सरकारमा नयाँ गठबन्धन भएपछि तनहुँमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित अरु पार्टीले उम्मेदवारमा तालमेल गरेका छन् ।
नयाँ क्षेत्रमा राजनीति गर्न गएका सवेन्द्र काठमाडौमा परीक्षण भइसकेका छन् भनें तनहुँ उनको लागि नयाँ क्षेत्र हो । नेपाली कांग्रेसले पार्टीका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीको कारबाही हिजो फुकुवा गरेको छ । झण्डै ७ हजार मतदाता लिएर बसेका भनिएका जोशी निर्णायक भएकाले पनि कांग्रेसले जोशीको कारबाही फुकुवा गरेको हो । जोशी गत मंसिर ४ गते प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवार भएका थिए ।
कांग्रेससँगको सहकार्य टुटेपछि केही दिनअघि जोशीले कांग्रेसको कार्यशैलीप्रति असहमति जनाउँदै फरक अभियान चलाउने बताएका थिए । चितवनका रास्वपा उम्मेदवार लामिछानेले कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ, एमाले उम्मेदवार कृष्णभक्त पोखरेललगायतलाई हराएका थिए । श्रेष्ठ पहिलो पटक निर्वाचनमा होमिएका थिए भनें पार्टीका पूर्व जिल्ला अध्यक्षसमेत रहेका पोखरेलले २०७० र २०७४ सालको निर्वाचन जितेका थिए । एमालेले पोखरेललाई फेरि उम्मेदवार नबनाएर पहिले अर्को क्षेत्रबाट टिकट फिर्ता गराएका न्यौपानेलाई उम्मेदवार बनाएको हो ।
रास्वपाले चितवनमा रहेका तीनवटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा १ र २ नम्बर क्षेत्रमा जितेको थियो । १ नम्बर क्षेत्रबाट रास्वपाका हरि ढकालले निर्वाचन जिते । क्षेत्र नम्बर ३ मा भनें राप्रपाका उपाध्यक्षसमेत रहेका विक्रम पाण्डेले निर्वाचन जिते । निर्वाचनमा ३ नम्बर क्षेत्रमा राप्रपा र एमालेबीच तालमेल थियो । यसअघि नेकपाबाट निर्वाचन जितेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३ नम्बर क्षेत्र छोडेर गोरखा २ बाट उम्मेदवार भए ।
प्रचण्डले त्यहाँ पनि सजिलै निर्वाचन जिते । उनी अहिले प्रधानमन्त्री छन् । राप्रपाका पाण्डेलाई एमालेले सघाएको थियो । पाण्डेलाई उम्मेदवारमा समर्थन गरेपछि एमालेले बनाएका उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारीलाई एमालेले फिर्ता गराएको थियो । राप्रपा र एमालेबीच केही क्षेत्रमा तालमेल थियो । न्यौपाने एमालेका जिल्ला अध्यक्ष पनि हुन् ।
उपनिर्वाचनमा आफ्नो पक्षमा माहौल बनाउन केन्द्रका नेताहरु पनि जिल्ला पुगिसकेका छन् । उपनिर्वाचनलाई सबैजसो पार्टीले अस्तित्वको लडाइका रुपमा लिएका छन् । अहिले प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ । नेकपा एमाले दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो दलको रुपमा रहेको छ । लामिछानेको सांसद पद खारेज भएसँगै १९ जना प्रतिनिधिसभामा सांंसद रहेको रास्वपा संसदको चौथो ठूलो दल बनेको छ ।
प्रतिक्रिया दिनुहोस्