Ads

ओलीले जस्तै आज पनि प्रमुख उम्मेदवारले आफैंलाई मतदान गर्न नपाउने


काठमाडौं । आज तीनवटा निर्वाचन क्षेत्रमा बिहान ७ बजेबाट मतदान हुँदैछ । विभिन्न कारणले सांसद रिक्त रहेका यी क्षेत्रमा निर्वाचन भइरहेको छ । तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि ती दुवै निर्वाचन क्षेत्र रिक्त भएका थिए ।

त्यस्तै चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा परेपछि त्यो क्षेत्र पनि खाली भएको थियो । रवि फेरि पनि उम्मेदवार भएका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले जस्तै आजको निर्वाचनमा प्रमुख पार्टीका उम्मेदवार आफैंले आफूलाई मतदान गर्न पाउने छैनन् । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर २ का स्थायी वासिन्दा ओलीले गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचन झापा–५ बाट जिते तर उनले आफैंलाई मतदान गर्न पाएनन् ।

ओलीको बसोवास रहेको क्षेत्र भक्तपुर –२ मा कांग्रेसका उम्मेदवार दुर्लभ थापाले प्रतिनिधिसभाको निर्वाचन जिते । ओलीले अघिल्लो निर्वाचनमा पनि आफैंलाई मतदान गर्न पाएका थिएनन् । राजनीतिक रुपमा सुरक्षित मानिएको झापामा ओली २०४८ सालदेखि नै निरन्तर निर्वाचनमा उठ्दै आएका छन् । २०६४ सालको संविधानसभाको निर्वाचनमा भनें नेकपा माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग उनले निर्वाचन हारे । भर्खरैमात्र राजनीतिमा लागेका लिङ्देनले ओलीलाई झापा –७ बाट हराए । त्यतिबेला ७ वटा निर्वाचन क्षेत्र रहेको झापामा अहिले ५ वटामात्र निर्वाचन क्षेत्र रहेका छन् ।

रविको मतदाता नामावाली काठमाडौंमा भएकाले उनले पनि मतदान गर्न नपाउने भएका हुन् । एमालेबाट चितवन–२ मा उम्मेदवार भएका पार्टीका जिल्ला अध्यक्षसमेत रहेका रामप्रसाद न्यौपानेको मतदाता नामावलीमा पनि त्यहाँ नाम छैन । उनी चितवन क्षेत्र नम्बर ३ का मतदाता हुन् । मंसिर ४ को निर्वाचनमा पनि उनी उम्मेदवार बनेका थिए तर पार्टीको केन्द्रीय नीति अनुसार त्यो क्षेत्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भागमा परेकाले न्यौपानेले उम्मेदवारी फिर्ता लिएका थिए । यो क्षेत्रबाट एमालेको समेत समर्थनमा राप्रपाका उपाध्यक्षसमेत रहेका विक्रम पाण्डेले निर्वाचन जिते । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भनें एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।

कांग्रेस उम्मेदवार श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरिसकेका छन् । श्रेष्ठ पार्टीका निवर्तमान जिल्ला सभापति हुन् । उनी पार्टीको २०७८ मंसिर अन्तिममा भएको महाधिवेशनमा थोरैमात्र मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

बारा २ मा भइरहेको उपनिर्वाचनमा पनि जसपाका उम्मेदवार उपेन्द्र यादव, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलले मतदान गर्न पाउने छैनन् । उपेन्द्र गत मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी–२ बाट पराजित भएका थिए । खरेल पनि सोही निर्वाचनमा काठमाडौं–१ बाट पराजित भए । यादव सप्तरी–२, पौडेल वारा–३ र खरेल काठमाडौँ–१ का मतदाता हुन् । बार २ मा ३४ जना उम्मेदवार छन् । जसमध्ये १० राजनीति दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

तनहुँमा नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले लगायत उम्मेदवार छन् । नेपाली कांग्रेसका उम्मेदवार भट्टराइको व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदाता नामावली रहेको छ । नेकपा एमालेका उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेको भने तनहुँमा मतदाता नामावलीमा नाम नभएकाले उनीहरुले मतदान गर्न पाउने छैनन् ।

खनाल पनि गत मंसिर ४ को निर्वाचनमा काठमाडौं–६ बाट उम्मेदवार भएका थिए । तनहुँमा राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारलगायतका उम्मेदवार रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू