काठमाडौँ, । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषद्को आदेश विपरीत भित्तेपात्रो प्रकाशन गरेको भेटिएको छ ।
मन्त्रिपरिषद्को आदेश विपरीत विभागले प्रकाशित गरेको भित्तेपात्रोमा अक्षय तृतीया पर्वमा त्रुटी भेटिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अक्षय तृतीया वैशाख १० गतेका लागि तोके पनि उक्त भित्तेपात्रेमा वैशाख ९ गते उल्लेख थियो ।
पात्रो प्रकाशन गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर विभागले समितिबाट स्वीकृति नलिइ भित्तेपात्रो प्रकाशन गरेको भेटिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । दिए । यस विषयमा गृह मन्त्रालयका अधिकारीसँग कुराकानी भएको पनि उनले बताए ।
विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित भित्तेपात्रो प्रकाशन गर्दा गम्भीर त्रुटी भएको भेटिएको भन्दै हाल उक्त भित्तेपात्रे वितरणमा रोक लगाइएको बताए ।
आफूखुसी भित्तेपात्रो प्रकाशन गर्दा तिथि, मिति, चाडपर्वमा फरक भएर विवाद आएपछि मन्त्रिपरिषद्को २०७७ साल पुस २० गतेको बैठकले नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति गठन आदेश स्वीकृत गरी पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गर्नेले समितिसँग स्वीकृत लिनुपर्ने व्यवस्था गरेको थियो ।
गठन आदेश २०७८ साल साउनमा नेपाल राजपत्रमा प्रकाशन भएको थियो । नेपाल राजपत्रमा समितिको गठन आदेश प्रकाशन भएपछि विसं २०७९ देखि प्रकाशन भएका सबै पात्रो, भित्तेपात्रो र गोजीपात्रोले समितिसँग स्वीकृति लिनुपर्छ ।
पात्रो प्रकाशित गर्दा समितिबाट लिइएको स्वीकृति नम्बर पनि उल्लेख गर्नुपर्छे व्यवस्था छ । यस वर्षदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा पात्रो, भित्तेपात्रो र गोजीपात्रो अनधिकृत रुपमा प्रकाशन भए÷नभएको अनुगमन गर्न समिति गठन भएको छ । समितिमा गृह मन्त्रालयका उपसचिवलाई पनि सदस्य राखिएको छ ।
विभागले भने भित्तेपात्रो प्रकाशनमा त्रुटी भएको भन्दै सुधार गरिने प्रतिबद्धता जनाएको छ । विभागले भित्तेपात्रो प्रकाशनका लागि अस्मि प्रिन्टिङ प्रेसलाई जिम्मा दिइएको थियो । प्रेसका डिजाइनर भूषण श्रेष्ठले नै तिथि, मिति, चाडपर्व राखेको बजार व्यवस्थापक विश्वराज केसीले बताए । समितिले पुसमै पात्रोलाई स्वीकृति दिन्छ । माघ पहिलो सातासम्म पात्रो प्रकाशन भएर बजारमा जान्छ । तिनै पात्रो किनेर डिजाइनरले भित्तेपात्रोको डिजाइन बनाउँछन् ।
प्रतिक्रिया दिनुहोस्