काठमाडौं । ग्यास विष्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आफूहरुले कहिल्यै पनि साना र मसिना कुरा नगरेको बताएका छन् ।
हिजो उपचार गराएर स्वदेश फर्किएका नेता भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफूलाई उपचारका क्रममा कसैले बाँच्छ भनेर नभनेको पनि बताए । ‘गाउँगाउँमा विद्युत पुग्यो, ग्यास पुग्यो तर त्यसलाई कसरी चलाउने भन्ने सामान्य जानकारी दिने गरी पाठ्यक्रममा नै समेट्नुपर्छ, यसको शिकार म त भइसकें भनें अरुको अवस्था के होला रु उनले भने ‘हामीले ठूला कुरा गर्ने, साना कुरा नगर्ने, मसिना कुरा हेर्दैै नहेर्ने गर्दा आज प्रत्येक ठाउँमा यस्ता दुःखद् घटना भएका छन् ।’
उनले गत तीन वर्षमा भेन्टिलेटरमा उपचार गराएका तीन जनामात्र बाँचेको पनि जानकारी गराए । आफ्नै निवासमा ग्यास विष्फोट हुँदा घाइते भएकी उनकी आमा हरिकला भण्डारीको निधन भएको थियो । नेता भण्डारीले आमाको निधन भएको भर्खरैमात्र थाहा पाएको जनाए । उनले यस प्रकारका प्रकोपबाट धेरै आमाबुबा र युवायुवतीको निधन भएको भन्दै दुःख व्यक्त गरे ।
नेपालमा १ सय १० जनाले यो वर्षमा आगजनीबाट ज्यान गुमाएको भन्दै उनले पनि आफूले आमा गुमाएको बताए । उनले सरकारले आगजनीबाट पीडित भएकाका लागि अस्पताल खोल्ने निर्णय गरेको सुन्दा खुशी लागेको भन्दै थपे ‘यसलाई हामी सबै मिलेर बनाउनुपर्छ, अब नेपालीले बाहिर गएर उपचार गर्ने होइन, यसको नेतृत्व म गर्न तयार छु ।’ भण्डारीले आफ्नो स्वास्थ्यप्रति भण्डारीले तयार गरेको विज्ञप्तीसमेत पत्रकारहरुलाई वितरण गरिएको थियो ।
आगजनीबाट अवस्था निकै जटील हुँदा पनि उनी भारत उपचार गर्न जान मानेका थिएनन् तर स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको इच्छाबिना नै उनलाई उपचारका लागि भारत लगिएको थियो । उनले नेपालमै उपचार गर्ने अडान लिएका थिए । उनले आफ्नो स्वास्थ्यको बारेमा चासो र चिन्ता राख्ने राजनीतिक दलका नेता, भारतीय नेताका साथै अस्पताल, चिकित्सकाका साथै सबैप्रति आभार व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्