काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर एक कार्यक्रममा बोल्दै उनले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरू सल्बलाउन थाल्दा पनि सरकार गम्भीर नभएको बताए ।
अध्यक्ष ओलीले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ ? भन्दै अचम्म मान्नुपर्ने अवस्था रहेको बताए ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरिहता मात्रै प्रकट गरिरहेको जिकीर समेत गरे । ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिनँ भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।
सरकारले केही पनि गर्न नसकेको आरोप लगाउँदै ओलीले श्रमिकहरूबीच फाटो ल्याउने प्रयास फेरि पनि भइरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पारेर अघि बढ्न सबै मजदुरहरूलाई एकताबद्ध हुन आह्वानसमेत गरेका छन् । मजदुरको हक, हित र उनीहरूको जायज माग सम्बोधन गर्न उनीहरूबीचको एकता सबैभन्दा ठूलो बल भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्