Ads

मधेस प्रदेशमा सरकार विस्तारमा ढिलाइले बजेट प्रभावित


वीरेन्द्र रमण 

जनकपुर । मधेस प्रदेशमा सत्तामा रहेका दलहरुबीच मन्त्रालय भागवण्डा नटुंगिदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । यसको प्रत्यक्ष प्रभाव सरकारको बजेट निर्माण प्रक्रियामा परेको छ । मन्त्रिपरिषद् विस्तारलाई अन्तिम रुप दिन दलहरुबीच गृहकार्य सुरु भएपनि राजधानीमा बस्ने शीर्ष दलको बैठकले नै मन्त्रीहरुको जिम्मेवारीलाई टुंगो लगाउने भएपछि अहिले मन्त्रीहरुको काठमाडौं दौडधुप बढेको छ । यसैका कारण सरकार विस्तारमा समेत सकस देखिएको छ।

नेकपा एमाले सरकारबाट बाहिरिएसँगै गत चैत्र २१ गतेदेखि उसले सम्हाल्दै आएका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन् । मुख्य चार वटा मन्त्रालयको जिम्मेवारी उनीमाथि छ । जसमध्ये विकास निर्माणका लागि सबैभन्दा महत्वपूर्ण मानिएको भौतिक पूर्वाधार मन्त्रालय पनि छ। मन्त्रिपरिषद् विस्तार नहुँदा मन्त्रालयहरुले योजना निर्माणमा छलफलसमेत सुरु गरेका छैनन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपालाई सरकारमा ल्याउन मुख्यमन्त्री यादव राजधानीमा हुने सत्तारुढ दलको बैठकको निर्णय कुरिरहनु भएको छ । यी दलहरुसमेत शीर्ष नेतृत्वको निर्णयको पखाईमा छन् । शीर्ष नेतृत्वले मन्त्रालयको भागवण्डाको टुंगो नलगाएपछि अहिले यी दलहरु सरकारलाई विश्वासको मत दिएर विपक्षमा बस्दै आएका छन् ।

प्रदेश सरकारमा दुई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको जनमत पार्टीलाई सरकारमा राख्ने वा नराख्ने विषयमा सत्तागठबन्धन दलभित्रै विवाद छ । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी जनमतलाई सरकारबाट हटाउने पक्षमा छ । तर संघीय सरकारलाई समर्थन दिएको जनमत अहिले पनि दश दलीय गठबन्धनमा सहभागी छ । उसले गठबन्धनको बैठकमा समेत सहभागिता जनाउँदै आएको छ । यस्तो अवस्थामा जनमतलाई सरकारबाट हटाउनसमेत सहज देखिँदैन । मधेसमा जसपा र जनमतबीचको सम्बन्ध त्यति राम्रो छैन । जनमतले वर्तमान गठबन्धनमा आफूहरुसमेत रहेकाले कुनैपनि हालतमा सरकारबाट नहट्ने अडान लिएको छ ।

दलहरुबीचमा मन्त्रालयको विषयमा टुंगो नलागेकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । तर दलहरु भने गृहकार्य सुरु भएको भन्दै केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरिरहेका छन् । जसपाले मन्त्रालयको विषयमा गठबन्धनमा रहेका दलहरुले नाम नदिएकाले ढिलाइ भइरहेको जनाएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा सरकार गठन हुँदा जसपा र जनमतबीचमा सरकार आलोपालो गरि चलाउने सहमति भएको थियो । त्यो गठबन्धनमा नेकपा एमालेसमेत सहभागी थियो । तर नयाँ गठबन्धन बनेपछि जसपाले सो प्रतिबद्धताबाट पछाडि हट्दै अब नेपाली कांग्रेससँग आलोपालो गरि सरकार चलाउने जनाएको छ । तर गठबन्धन दलबीचमा नै सरकारको नेतृत्वको विषयमा विवाद देखिएकाले सरकार विस्तारमा ढिलाइ भइरहेको छ । सरकार विस्तारमा भइरहेको ढिलाइले प्रदेश सरकारको बजेट निर्माण लगायतका काममा समेत ढिलाइ भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू