Ads

ओलीको प्रधानमन्त्रीलाई प्रश्न : ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ?’


काठमाडौँ, । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नबोलिएको भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा भाग लिँदै ओलीले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको देखिँदैन । प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूची ३१ मा रहेको नेपालको नक्सा अटाउन सकेको छैन, त्यहाँ बोलिएको छैन ।’

केहीदिनमै प्रधानमन्त्री भारत जान लागेको भन्दै उनले केही प्रश्न उठाएका छन् । भारत नेपालको छिमेकी र मित्र भएको भन्दै उनले आफूलाई परेको मर्का खुलस्त राख्न सक्नुपर्ने बताए । ‘खुलस्त नगरी कसरी समस्या समाधान हुन्छ ?,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘खुलस्त कुरा गर्नुप¥यो र समस्या समाधान गर्नुप-यो । चिसोपन राख्नुभएन, कायर मन पनि राख्नुभएन ।’

उनले अगाडि भने, ‘काँतर मन, चिसो मन । भन्न नसक्ने, चिसो लिइरहने, कुरा गर्न नसक्ने, आफ्ना इस्यु राख्न नसक्ने अनि बोल्न नसक्ने हुनुभएन ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकीको सम्बन्धलाई कसरी लिनुभएको छ ? राष्ट्रिय हितका इस्युहरु खुलस्त राख्नुभएको छ कि छैन ? समस्याका कारणहरु र समाधानका विषयमा सम्वाद गर्नुभएको छ कि छैन ? समस्या छन् भन्ने राख्नुभएको छ कि छैन ? भनेर समेत प्रश्न गरेका छन् ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई फेरि प्रश्न गरे, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ?’

हालै मात्र आफूले हाम्रो भूगोल खुम्चियो भन्दा एउटा टेलिभिजनले ‘जे पायो त्यही बोलेर हिँड्ने केपी ओलीलाई किन जेल हाल्दैन’ भनेको भन्दै उनले सरकार पनि यस्तो हो कि भनेर प्रश्न गरेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू