Ads

मधेसमा सरकार विस्तारमा भागवण्डाको किचलो


मधेस । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको दुई महिना बित्न लाग्दासमेत गठबन्धन दलहरूले सरकारलाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूले जसपा नेतृत्वकै सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् तर मन्त्रालय भागबण्डा मिल्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन ।

प्रदेश सरकारमा नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी सहभागी हुन बाँकी छ । हाल जसपा, माओवादी केन्द्र र जनमत पार्टी प्रदेश सरकारमा सहभागी छन् । प्रदेशमा १० मन्त्रालय छन् । तर यसअघि एमालेले सम्हालेको चार मन्त्रालयमा कांग्रेसले दाबी गरेको छ । जसका कारण लोसपा र नेकपा एकीकृत समाजवादीले माग गरिरहेको दुई–दुई वटा मन्त्रालय दिन मुख्यमन्त्रीलाई अप्ठ्यारो भइरहेको छ ।

सरकारले पूर्णता नपाउँदा प्रदेश सरकारले असार १ गतेभित्र ल्याउनुपर्ने बजेट निर्माण प्रभावित भएको छ । मधेस प्रदेशमा अहिलेसम्म चालु आर्थिक वर्षको कुल बजेटको ५० प्रतिशत पनि खर्च हुन सकेको छैन । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले ०७९/८० का लागि ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार रुपैयाँ विनियोजन गरेकोमा चैत मसान्तसम्ममा १० अर्ब ५ करोड १३ लाख ९९ हजार १८६ रुपैयाँ मात्र खर्च भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू