Ads

ढाकाकुमारको रिटमा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा सुनुवाइ हुँदै


काठमाडौं । आर्थिक लेनदेन प्रकरणमा मुछिएर पार्टीको कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठको पद सम्बन्धी रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा आज पेशी तोकिएको छ । पार्टीले गरेको कारबाहीमा असन्तुष्टि जनाई डा. श्रेष्ठले दायर गरेको रिट उपर आज सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेशी तोकिएको हो ।

मंसिर ४ गतेको निर्वाचनपछि समानुपातिक तर्फको सांसद बनेका उनले मन्त्री बन्नका लागि विवादित व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट समेत बर्खास्त गरेको थियो ।

आफूलाई पार्टीले अन्यायपूर्ण तरिकाले हटाएको भन्दै उनले सांसदमा पुनर्वहालीको माग गर्दै बैशाख २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । बैशाख २५ गते सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

ढाकाकुमारको पद खारेज गर्दै रास्वपाले उनको ठाउँमा बिन्दावासिनी कंसाकारलाई सिफारिस गरेको थियो । निर्वाचन आयोगले बिन्दावासिनीलाई सांसदको प्रमाणपत्र पनि दिएको थियो । तर, सर्वोच्चको आदेशसँगै उनले शपथ लिन पाइनन् । आज सर्वोच्चले यस मुद्धाको छिनोफानो लगाएमा उनको सांसद पद बहाल रहने वा पार्टीले गरेको कारबाही सदर भइ कंसाकारले बाजि मार्ने भन्ने कुराको टुंगो लाग्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू