Ads

कोशी प्रदेशमा ल्यापटपको खरिद प्रक्रिया स्थगित गर्न एमालेले पत्र पठाउने


काठमाडौँ,। नेकपा एमाले कोशी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यका लागि भन्दै खरिद गर्न लागिएको ल्यापटपको खरिद प्रक्रिया स्थगित गर्न अनुरोध पत्र पठाउने भएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमाले संसदीय दलको बैठकले ल्यापटप हाललाई आवश्यक नभएको जानकारीसहित संसद् सचिवालयलाई पत्राचार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

‘अघिल्लो आर्थिक वर्षमा सरकारले बजेट तथा कार्यक्रममा यो विषय उल्लेख भएको रहेछ । त्यही बजेट र कार्यक्रमको आधारमा सचिवालयले ल्यापटप खरिद गर्ने प्रक्रिया सुरु गरेको रहेछ,’ भण्डारीले भनिन् , ‘त्यसकारण हामीले दलको धारणा सार्वजनिक गर्नुपर्छ भन्ने लाग्यो । अहिले पूर्वाधार विकास र जनसेवाको क्षेत्रमा बजेट अभाव भइरहेको बेला यो चाहिँदैन भन्ने निर्णय गरेका छौं ।’

अहिलेका लागि कम्प्युटरसँग सम्बन्धित काम गर्न आफूहरुसँग पीए रहेको, संसद् सचिवालयले उपलब्ध गराएको दलको कार्यालयमा कम्प्युटर पनि रहेको, कतिपय काम एन्ड्रोइड मोबाइलबाटै पनि हुने भएकाले ल्यापटप नचाहिने भण्डारीको भनाई छ ।

उनले ल्यापटप खरिद गर्न लागेको विषयमा वर्तमान सरकारप्रति भइरहेको आलोचना र टिप्पणीप्रति दुःख व्यक्त गरिनन् । ‘यो वर्तमान सरकारले गरेको विषय होइन,’ भण्डारीले भने, ‘तर, एमाले र वर्तमान सरकारलाई जोडेर गरिएको प्रचारप्रति हामी दुःख व्यक्त गर्दछौं ।’

 

Ads

सम्बन्धित पोष्टहरू