काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताए ।
मंगलबार राष्ट्रियसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नबोलिएको भन्दै सरकारमाथि प्रश्न उठाएका थिए ।
सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा बोल्दै ओलीले भनेका थिए, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? भनेर प्रश्न गरेका थिए ।
त्यसको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले भने ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ । थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न दृढ र प्रतिवद्ध रहेको जानकारी पनि माननीय सदस्यहरुलाई गराउन चाहन्छु’ उनले भनेका छन् ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय हितलाई सर्वोपरी राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत र मित्रराष्ट्रसँगको सम्बन्ध थप प्रगाढ बनाउने पनि बताएका छन् ।
त्यस्तै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाभिमान र सीमानाको सुरक्षाका लागि सरकार सचेत र प्रतिवद्ध रहेको पनि उनले बताए । परराष्ट्र नीति सञ्चालनमा सबै राजनीतिक दलबाट एउटै धारणा हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।
प्रतिक्रिया दिनुहोस्