काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका नेता कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने तयारीमा नाउपा रहेको छ ।
गएको शनिबार आफूहरुलाई बाहिरै राखेर मन्त्रिमण्डल विस्तार गरिएको भन्दै चिढिएको नाउपाले मुख्यमन्त्री शाहले आफूखुसी र मनोमानी तरिकाले चलेको आरोप लगाएको छ । पूर्व सहमति अनुसार २ मन्त्रालय र १ राज्यमन्त्री हामीलाई दिने सहमति भएकोमा उक्त सहमति मुख्यमन्त्री शाहले लत्याएको आरोप नाउपाले लगाएको छ ।
मुख्यमन्त्री शाहले नेकपा (माओवादी केन्द्र)बाट झपट साउदलाई सामाजिक विकास मन्त्री, रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र गीतादेवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारीसहित शपथ ग्रहण गराएका थिए । त्यस्तै नेपाली कांग्रेसबाट पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी दिएका थिए ।
५३ सदस्यीय प्रदेशसभामा सरकार टिकाउन न्युनतम २७ सांसदको बहुमत आवश्यक पर्छ । त्यहाँ सरकारको पक्षमा कांग्रेसका १९ सांसद रहेका छन् भने माओवादीका ११ र नेकपा (एकिकृत समाजवादी)का ४ जना सांसदहरु रहेका छन् । ७ जना प्रदेशसभा सदस्य रहेको नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री शाहको पक्षमा ३४ जना सांसदको स्पष्ट बहुमत कायमै रहनेछ । यस प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का १० तथा राप्रपा र स्वतन्त्र १–१ जना सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्