Ads

जलहरी अनियमितता सम्बन्धी ओलीविरुद्धको अभिव्यक्ति हटाइएकोमा कोइरालाको आपत्ति


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद्‌मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्धको जलहरी अनियमितता सम्बन्धी अभिव्यक्ति हटाइएकोमा आपत्ति जनाएका छन् । डा. कोइरालाले शंकास्पद अनियमिततासम्बन्धी उठेको विषय रेकर्डबाट हटाउनु विडम्बना भएको बताएका हुन् ।

शुक्रबार नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रतिनिधिसभाको बैठकमा पशुपतिनाथ मन्दिरमा हालिएको सुनको जलहरीमा अनियमिततासम्बन्धी दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएकामा डा. कोइरालाको असन्तुष्टि रहेको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार जलहरीसम्बन्धी भनाइ संसद्‌को रेकर्डबाट हटाइएको थियो ।

‘कस्तो विडम्बना१ संसद्‌मा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियतासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोहीअनुरुप कार्य गर्ने,’ कोइरालाले भनेका छन् ।

सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘त्यसो गर्न नदिँदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र ?’ नेताहरुको सहमतिमा केही कुरा संसद्‌को रेकर्डबाट हटे पनि देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत् पनि छन् भन्ने कुरा बुझ्न कोइरालाले सचेत गराएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू