काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल सुरु गरेका छन् । सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी गराएको छ ।
बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न सभामुखले आग्रह गरेका थिए । आइतबार प्रतिनिधि सभा अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका थिए । सभामुखले आइतबार साँझ नै फेरि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गर्नुभएको थियो ।
“प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,” प्रधानमन्त्रीलाई सभामुखले भनेका थिए, “समयमा नै संवादबाट निकास खोजौं, अब सदन अवरोध भइरहन सक्दैन ।”सभामुखसँगको संवादमा अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आजको संसदमा आफूले प्रष्टीकरण दिने बताएका थिए ।
“म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,” प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याएका थिए । सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही मार्फत विपक्षी दलहरुलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्