काठमाडौं । सत्तारुढ दलका सांसदहरुले सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट सकारात्मक रहेको जनाएका छन् भने प्रतिपक्षी सांसदहरुले बजेटको कार्यान्वयनका बारेमा प्रश्न उठाएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार बजेटमाथिको छलफल क्रममा सत्तापक्ष सांसदहरुले बजेटको बचाउ र प्रतिपक्षी सांसदहरुले बजेटको बिरोध गरेका हुन् ।
छलफलमा भाग लिदै कांग्रेस सांसद दिलेन्द्र बडुले बजेटले पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्चलाई घटाउने प्रयत्न गरेको बताए । उनले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको अनुगमनको प्रभावकारिता बढाउने विषय सकारात्मक रहेको जिकिर गरे ।
बडुले २० वटा सरकारी निकायलाई खारेजी तथा गाभ्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताए । त्यस्तै एमाले सांसद रघुवीर महासेठले सार्वजनिक खरिद ऐन बनाउँदा कुनै ठेकेदारलाई लाभ पुग्ने गरी बनाइएको उल्लेख गरे ।
वीरगञ्ज–काठमाडौँ र रसुवा–काठमाडौँ रेलमार्गको डिपिआर ढिला हुनुमा सरकार जिम्मेवार रहेको भन्दै उनले सुनकोसी मरिण, भेरी बबई र रानी जमरालगायत सिँचाइ आयोजनाको कामलाई प्राथमिकतामा राख्न नसकिएको बताए ।
त्यस्तै सांसद लेखनाथ दाहालले बजेटले समस्याको उठान गरेको र पुँजीगत खर्चका लागि कार्ययोजना बनाएर अनुगमन संयन्त्र परिचालन गर्ने विषय सकारात्मक रहेको बताए । त्यस्तै सांसद उपेन्द्र यादवले बजेटमा केही सकारात्मक, केही नकारात्मक र केही विभेदकारी विषय राखिएको बताए ।
उनले बजेट निर्माण गर्दा सन्तुलित र समावेशी विकासको अवधारणालाई अवलम्बन गर्न नसकेको उनले दाबी गरे । त्यस्तै सांसद डा. अमरेशकुमार सिंहले मधेशलाई न्यून प्राथमिकतामा राखेको भन्दै आगामी आर्थिक वर्षका लागि असमानरुपमा बजेट विनियोजन भएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्