काठमाडौं । तत्कालीन नेकपा (माओवादी)ले २०५२ सालदेखि २०६३ सालसम्म सञ्चालन गरेको जनयुद्धमा बाल सेनाको दुरुपयोग गरेको भन्दै परेको रिटको सुनुवाइ आजका लागि तोकिएको छ । पूर्व अयोग्य लडाकु लेनिन विष्टलगायतले दायर गरेको रिटको पेशी आजका लागि तोकिएको हो ।
पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपाल नामक संस्थाको अध्यक्ष रहेका विष्ट तथा संस्थापक संयोजक कृष्णप्रसाद दंगालसहितले माओवादीले युद्धका नाममा बालसेनाको दुरुपयोग गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरुले तत्कालीन नेकपा (माओवादी) र हाल नेकपा (माओवादी केन्द्र)को अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा तत्कालीन जनसरकार प्रमुख रहेका पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईका विरुद्ध रिट दायर गरेका थिए ।
आइतवार दायर भएको उक्त रिटमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाइएको छ । रिट निवेदकहरूले सशस्त्र द्वन्द्वमा बाल सेना भर्ती गराउनु हुन्न भन्ने तथ्य ढाँटी आफूहरूजस्तालाई बाल सैन्यका रूपमा भर्ती गरी सुन्दर भविष्य बरबाद गर्ने र युद्ध अपराधको भागीदार भई अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लङ्घन गर्ने अपराध गरेकोले प्रचण्ड र भट्टराईलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुमाथि प्रचलित अन्तर्राष्ट्रिय कानुन बमोजिम कानुनको दायरामा ल्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आवश्यक पर्ने कार्य गर्नु र घरेलु रूपमा कानुनको दायरामा ल्याउन संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्सँग समन्वय गरी संयुक्त राष्ट्रसंघीय आयोग स्थापित गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन परमादेशको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्