काठमाडौँ, । नक्कली शरणार्थी प्रकरणको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणका कानुन व्यवसायीहरुले प्रधानमन्त्री हुने सम्भावना भएका व्यक्तिको चरित्र हत्या भएको दाबी गरेका छन् ।
नक्कली शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस भइरहेको छ । बुधबार खाँणको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो लगायतले बहस गरेको हुन् । उनीहरुले खाँणमाथि लगाएको अभियोगको औचित्यमाथि नै प्रश्न गरेका छन् ।
वरिष्ठ अधिवक्ता एवं बार अध्यक्ष घिमिरेले खाँणको साथबाट बरामद भएको कागज भनेर प्रहरीले अभियोगपत्रमा समावेश गरेको दसी प्रमाणमा प्रश्न उठाएका छन् ।
अभियोगपत्रअनुसार खाँणलाई २७ चैतमा उनको घरबाट पक्राउ गर्दा केही कागजात बरामद भएको थियो । त्यसमध्ये यो प्रकरणमा पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले एउटा कागज पठाएका थिए, जसमा केशव दुलालको बयान फेर्न लगाउनुप-यो, नभए खाँणविरुद्ध मुद्दा चल्नसक्छ भनिएको थियो ।
बुधबार खाँणको बचाउ गर्ने क्रममा वरिष्ठ अधिवक्ता घिमिरेले खाँणको घरबाट बरामद भएको भनिएको त्यो कागज टाँसिएको र त्यसमा फरक मसी प्रयोग भएको दाबी गरेका थिए । उनले अगाडि भने, ‘हस्ताक्षर र ल्याप्चेबिनाको कागजलाई प्रमाण मान्न मिल्दैन ।’
उनले तत्कालीन गृहसचिव पाण्डेलाई रानीपोखरीस्थित प्रहरी कार्यालयमा पु-याएर सरकारी वकिलले बयान लिएको समेत दाबी गरे । तत्कालिन गृहसचिव पाण्डेको बयान उधृत गर्दै उनले भने, ‘राति निद्रामा लगेर बयान गराइएको रहेछ ।’
खाँणलाई मन्त्रालयमै रकम बुझाएको बयानमा प्रश्न उछन्दै उनले भने, ‘केशव दुलालले झोला बोकेर मन्त्रालय गए कि गाडीमा गए ? सीसीटीभी प्रमाण मगाउनुपर्छ र हेर्नुपर्छ ।’
अनुमानको भरमा कसैलाई जेल पठाउन नहुने उनले बताए । ‘मलाई बार अध्यक्ष भएको मान्छे मुद्दा लड्न आयो भनेका छन्’, घिमिरेले भने, ‘मेरो पक्षको राजनीतिक चरित्रहत्या भएको छ । प्रधानमन्त्री हुने सम्भावना भएको मान्छेको चरित्रहत्या भयो । यसको क्षतिपूर्ति कसरी हुन्छ ?’
उनीभन्दा अगाडि बहस गरेका पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले ठगीको आरोपमा बयान गराएर सरकारी कागजात कीर्ते गरिएको मुद्दा चलाइएको भन्दै आपत्ति जनाए । उनले भने, ‘मेरो पक्षलाई जुन विषयमा बयान लिइएको छैन, त्यसैमा अभियोजन गर्न मिल्छ ?’
उनले ठगीको आरोपमा जाहेरीकर्ता र आरोपितबीच मेलमिलाप भएमा मिलापत्र समेत हुने अवस्था भएको भन्दै त्यसलाई समेत निषेध गर्न अरु अभियोगमा तानिएको बताए ।
बालकृष्ण खाँणमाथि एक करोड २६ लाख लिएको अभियोग लागेपनि कुनैपनि पक्षले रकम बुझाएको नस्वीकारेको भन्दै उनले भने, ‘प्रमाणविना पनि अभियोग हुन्छ ?’
वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले दुई व्यक्तिबीचको संवादमा आधारित भएर तेस्रो व्यक्ति (बालकृष्ण खाँण) माथि अभियोग चलेको भन्दै त्यसको औचित्यमा प्रश्न गरे ।
सञ्चारमाध्यमहरुमा कागज चपाएको आरोप लागेको तर यथार्थ त्यो नभएको उनको जिकिर थियो । बालकृष्ण खाँण पक्राउ परेको भोलिपल्ट कागज बरामद भएको भन्दै उनले त्यही दिन किन खानतलासी नगरेको भनी प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस्