Ads

साहशिक खेल : मनोरञ्जनसँगै पर्यटनको आधार


 

गोपाल झापाली, धादिङ्
नेपाली युवाहरुमा साहशिक खेल प्रतिको रुची बढि रहँदा नयाँ नयाँ गन्तव्यहरुको विकास हुने क्रम पनि जारी छ । खेल र पर्यटनको माध्यमबाट स्थानीय स्तरमा आर्थिक गतिविधि वृद्धी गराउन यस्ता गन्तव्यहरु सहयोगी बन्ने गरेका छन् । पछिल्लो समय धादिङ् जिल्लाको थाक्रेमा निर्माण गरिएको जीप लाईन पनि यस्तै उदाहरण बनेको छ ।

थाक्रे गाउँपालिकाको वडा नं. ७ सातघुम्ति नजिकै रहेको जिपलाईनको मज्जा लिन पुग्नेहरुको संख्या बढि रहेको छ । संघीय राजधानी काठमाडौ देखि नजिकै रहेका कारण समेत यो धेरेका लागि उपयुक्त गन्तव्य बनेको छ । प्राकृतिक र ग्रामिण जनजीवन अवलोकन तथा साहशिक खेलको मज्जाका लागि यहाँ पुग्ने अधिकांश भने युवाहरु हुने गरेका छन् । नौबिसे ट्रायम्प अर्गानिक रिसोर्ट एण्ड जिपलाईन प्रालिले गत वर्षको बैशाख देखि औपचारीक रुपमा यहाँ रिसोर्टसँगै जिपलाईन सञ्चालनमा ल्याएको हो ।

रिसोर्टमा खानपान, जिपलाईनमा मज्जा
रात्री बसोबास सहित अर्गानिक खाना र खेलको मज्जाका लागि रिसोर्टसँगै जिपलाईन सञ्चालनमा ल्याईएको कम्पनीका व्यस्थापक प्रत्युस लामाले बताएका छन् । करिव २७ करोड रुपैयाँको लागतमा दिर्घकालिन योजना सहित शुरु गरिएको रिसोर्ट र जिपलाईनले स्थानीय युवाहरुलाई रोजगारीको अवसर समेत प्रदान गरेको छ । स्वदेशमानै लगानी गरि यहिँ सम्भावना र समृद्धीको खोजीका लागि पनि जोखिम मोल्न आफुहरु तयार भएको उनको भनाई छ । स्वदेशको लगानीले स्वदेशमै अवसरको खोजी गर्ने र स्थानीयलाई रोजगारीसँगै आम्दानीको अवसर समेत प्रदान गर्ने लक्ष्य राखि चुनौती मोलेर लगानी गरिएको लामाले सुनाए ।

अन्यत्रको भन्दा सिधा भिरालो र अत्याधुनिक प्रविधिको प्रयोग गरिएकाले यो सुरक्षित र थप रोमाञ्चक हुने गरेको जीपलाईनका प्राविधिक विकास भण्डारीको भनाई छ । काठमाडौ देखि नजिकै रहेको र सडक सुविधाको सहज पहुँचका कारण पनि यो स्थान धेरैका लागि उपयुक्त हुने उनको भनाई छ । यहाँ धेरै जसो युवाहरु समुह बनाएर शुक्रबार साँझ आउने र शनिबार जिपलाईनको अनुभव लिएर फर्कने गरेको भण्डारीले बताए ।

सहर नजिकै प्राकृतिक वातावरण
कर्मचारी, विद्यार्थी, व्यवसायी तथा अन्यलाई समेत फुर्सद निकालेर यहाँको प्राकृतिक वातावरणमा रमाउँदै अर्गानिक खाना तथा खेलको मज्जा लिन यो स्थान उपयुक्त रहेकोे काठमाडौबाट पुगेका रामनारायण घिमिरेले बताए । व्यस्त र कोलाहलपूर्ण दैनिकीबाट शान्त वातावरणको अनुभव गर्न काठमाडौ केन्द्रित व्यक्तिहरुका लागि यो ठाउँ छोटो दुरी र सहज पहुँचमा रहेको उनको अनुभव छ ।

कोलाहलपूर्ण सहर र व्यस्त दैनिकीबाट प्राकृतिक र शान्त वातावरणमा रमाउनेहरुका लागि यो ठाउ उपयुक्त रहेको छ । राजमार्गसँगै जोििडएको भए पनि पहाडी धरातल, स्वच्छ वातावरण र मनमोहक हरियालीले जो कोहिलाई पनि लोभ्याउने गरेको छ । यहाँको रिसोर्टमा आगामी दिनमा स्विमिङ् लगायतका सुविधा र आकर्षणहरु थप गरि यसलाई काठमाडौ नजिकैको मुख्य खेल तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको व्यवस्थापक लामाको भनाई छ ।

Ads

सम्बन्धित पोष्टहरू