सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु तथा रांगा जोतेर परम्परागत शैलीमा रोपाइँ दिवस मनाइएको छ। गाउँपालिकाको आयोजनामा स्थानीय माझी, मगर, नेवार र तामाङ समुदायको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
आधुनिक कृषि प्रणालीसँगै ट्र्याक्टर तथा कृषि उपकरणको प्रयोग बढ्दै जाँदा ठूलो संख्यामा हलगोरु प्रयोग गरेर सामूहिक रूपमा रोपाइँ गर्ने परम्परा दुर्लभ बन्दै गएको छ। यही मौलिक कृषि संस्कृतिको संरक्षण र निरन्तरताका लागि गाउँपालिकाले विशेष रूपमा रोपाइँ दिवस आयोजना गरेको जनाएको छ।
कार्यक्रमका क्रममा करिब पाँच रोपनी क्षेत्रफलको खेतमा रोपारहरूले असारे भाकासँगै धान रोपे। खेतभरि गुञ्जिएका असारे गीत, रोपाइँमा सहभागी किसानहरूको उत्साह र परम्परागत कृषि अभ्यासले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
रोपाइँसँगै सहभागीहरूले हिलो खेल्ने, एकअर्कालाई हिलो दल्ने, असारे गीत गाउने तथा डोरी तान्ने (टग अफ वार) जस्ता विभिन्न मनोरञ्जनात्मक गतिविधिमा समेत सहभागिता जनाएका थिए। यसले कृषि कार्यलाई उत्सवका रूपमा मनाउने नेपाली परम्परालाई झल्काएको सहभागीहरूले बताएका छन्।
नेपालमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा मनाइन्छ। धान रोपाइँलाई कृषि उत्पादन, खाद्य सुरक्षा तथा नेपाली कृषि संस्कृतिसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ।
मरिण गाउँपालिकामा आयोजित यस वर्षको रोपाइँ दिवसले परम्परागत कृषि संस्कृतिको संरक्षण, सामुदायिक एकता र स्थानीय पहिचान प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्